काठमाडौं, ३१ भदौ। ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले २ वर्षभित्र लोडसेडिङ पूर्णरुपमा अन्त्य गर्ने घोषणा गरेका छन् । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी ३७ बुँदे प्रतिवद्धतापत्र मार्फत उनले यस्तो घोषणा गरेका हुन् ।
मन्त्री प्रभाकरले त्यसका लागि दुईवर्षभित्र राष्ट्रिय प्रशारण लाइनमा १ हजार ४५० मेगावाट बिजुली थप्ने दावी गरे । अहिले निर्माणाधीन आयोजनालाई द्रुतगतिमा निर्माण गरेर २ वर्षमा जसरी पनि लोडसेडिङ अन्त्य गर्ने उनको भनाइ छ ।
‘राष्ट्रिय ऊर्जा संकट निवारण कार्यायोजनाका आधारमा अब आयोजनाका काम अघि बढ्नेछन्,’ ऊर्जामन्त्री शर्माले भने, ‘नेपाल विद्युत प्राधिकरण र त्यसका सहायक कम्पनीमार्फत २ वर्षभित्र थप ८ सय ५० मेगावाट बिजुली उत्पादन हुनेछ । यो अवधिमा निजी प्रवर्द्धकबाट ४ सय मेगावाट थप हुनेछ भने सोलार र जैविक ऊर्जामार्फत २ सय मेगावाट बिजुली राष्ट्रीय ग्रीडमा थप गर्ने गरी काम अघि बढ्नेछ ।’ लोडसेडिङ अन्त्य गर्न भारतबाट ६०० मेगावाट बिजुली आयात गरिने उनले बताए ।











