काठमाडौं, ३० भदौ । शिक्षा मन्त्रालयअन्तर्गतको नो अब्जेक्शन सर्टिफिकेशन शाखाबाट नो अब्जेक्शन लेटर (एनओसी) लिएर विदेशमा पढ्न जाने विद्यार्थीको सङ्ख्या प्रतिवर्ष बढ्दै गएको छ । यो सङ्ख्यामा प्रतिवर्ष करीब २ हजारका दरले वृद्धि हुँदै गएको पछिल्ला ३ आवको तथ्याङ्कले देखाएका छन् ।
यसरी जाने विद्यार्थीहरू विभिन्न शैक्षिक तहका भए पनि विशेषगरी स्नातक तह अध्ययनका लागि जानेको सङ्ख्या बढी रहेको शाखा प्रमुख डिल्लीश्वर प्रधान बताउँछन् । ‘विभिन्न देशको इण्टेकको समयअनुसार कुनै देशका लागि कुनै महीना त कुनै देशका लागि कुनै महीना एनओसी लिन आउने विद्यार्थी सङ्ख्या धेरै हुन्छन्,’ उनले भने, ‘तर समग्रमा सबैभन्दा धेरै विद्यार्थी अष्ट्रेलिया र त्यसपछि जापानका लागि एनओसी लिन आउने गरेका छन् ।’
अघिल्लो आर्थिक वर्षको भदौताका शाखाका कम्प्युटर क्र्याश भएका कारण भदौ महीनाको तथ्याङ्क उपलब्ध हुन सकेन । बाँकी ११ महीनाको तथ्याङ्क हेर्दा गतवर्ष सबैभन्दा बढी अष्ट्रेलियाका लागि, ६ हजार ५ सय दुईजनाले एनओसी लिएका छन् भने जापानका लागि ३ हजार ८ सय १२ जनाले लिएका छन् । त्यसैगरी तेस्रोमा अमेरिकाका लागि २ हजार ६ सय ४४ जनाले र चौथोमा भारतका लागि ९ सय ६७ जनाले एनओसी लिएको छात्रवृत्ति शाखाको तथ्याङ्क छ । अघिल्लो आर्थिक वर्षभरको तथ्याङ्क हेर्दा महीनाको २ हजारदेखि ५ हजारको सङ्ख्यामा विद्यार्थीले एनओसी लिएको देखिन्छ । यो आर्थिक वर्षको पहिलो महीना साउनमा मात्रै विदेश पढ्न जानका लागि एनओसी लेटर लिने विद्यार्थीको सङ्ख्या ३ हजार ७६ पुगेको छ ।











