भारतको दिल्लीस्थित एक अदालतले बेश्यावृत्तिका लागि चर्चित जीबी रोडको रेडलाइट एरियामा रहेको एक वेश्यालय तरुन्त बन्द गर्न आदेश दिएको छ । अदालतले वेश्यालय सञ्चालन गने एक नेपाली महिलालाई तीन वर्षको जेल सजाय समेत सुनाएको छ ।
अदालतले दिल्लीमा बस्दै आएकी ३६ वर्षीया कान्छी तामाङलाई तीन वर्ष जेल सजाय सुनाएको हो । नेपाली महिला कान्छीले जीबी रोडमा वेश्यालय चलाउँदै आएकी छन् । उनले बिभिन्न दलाल मार्फत नेपालबाट किशोरी र महिलाहरुलाई दिल्ली पुर्याउने र यौन धन्दामा लगाउने गरेको पाइएको छ ।
दिल्ली अदालतले कान्छी तामाङमाथि अनैतिक देहव्यापार कानुनको धारा ३ बमोजिम सजाय सुनाएको हो । वेश्यालय चलाउन वा आफ्नो घर डेरा परिसरलाई बेश्यालयका रुपमा प्रयोग गर्ने अनुमति दिनेमाथि भारतीय कानुनले ३ वर्ष सजायको व्यवस्था गरेको छ ।
कान्छी तामाङले जिबी रोडस्थित एक वेश्यालय कब्जा गरेर राखेको प्रहरीले जनाएको छ । अदालतले सो वेश्यालय तत्काल सिल गर्न प्रहरीलाई निर्देशन दिएको छ ।
यसैबीच मानव बेचबिखन विरुद्ध क्रियाशिल शक्ति समूहले कान्छी तामाङको बारेमा अनुसन्धान भइरहेको र सो वेश्यालयमा रहेका नेपाली चेलीहरुको उद्दारको लागि पहल भइरहेको जनाएको छ ।
शक्ति समूहकी कार्यकारी निर्देशक सुनिता दनुवारले मंगलबारमात्रै दिल्लीस्थित शक्ति समूहको टोलीलाई वेश्यालयबाट उद्दार गरिएकी किशोरी हस्तान्तरण भएको खबर आए पनि वेश्यालय कुन थियो भन्ने पुष्टि नभएको बताइन् ।
उनले भनिन्-अदालतले बन्द गर्ने आदेश दिएकै बेश्यालयबाट उद्दार भएको हुन सक्छ,हामी विस्तृतमा बुझ्दैछौं । पछिल्लो समयमा जिबी रोडबाट उद्दार भएका बहिनीहरु हामीसम्म आइपुगेका छैनन् ।
कोठी सञ्चालक अधिकांश नेपाली महिला
शक्ति समूहकै चरिमाया तामाङले दिल्ली लगायत भारतका बिभिन्न ठाउँमा नेपाली महिलाले नै कोठी सञ्चालन गरिरहेको बताइन् । कान्छी तामाङको बारेमा शक्ति समूहले आफ्नो च्यानलबाट बुझ्ने काम भइरहेको उनले बताइन् ।
कोठी चलाउनेहरुले नाम परिवर्तन गर्ने गरेकाले उनको बारेमा धेरै जानकारी नआएको चरिमायाको भनाइ छ । तर नेपाली चेलीहरुलाई लगेर बेश्यावृत्तिमा लगाउने अधिकांश कोठी सन्चालकहरु नेपाली महिलानै हुने गरेको चरिमायाको अनुभव छ ।
पछिल्लो समय भारतमै पनि परम्परागत कोठीको साटो फ्ल्याट लिएर युवतीहरुलाई राख्ने र ग्राहक समक्ष सप्लाई गर्ने प्रचलन देखिएको दनुवारले बताइन् । पहिले कोठी चलाउने नेपाली महिलाहरुले अहिले फ्ल्याट समेत लिएर धन्दा चलाउने गरेको पाइएको छ ।
अनलाइन खबर बाट
