दाङ, २३ भदौ । प्रेस सेन्टर नेपाल दाङ शाखामा तीनवटा पुरस्कार अक्षयकोषको स्थापना गरिएको छ । बिहीबार घोराहीमा बसेको सेन्टरको दोस्रो पूर्ण बैठकले एक लाख दश हजार रुपैयाँ राशीको कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कार अक्षयकोष, ५१ हजार राशीको लोककुमारी स्मृति पत्रकारिता पुरस्कार अक्षयकोष र ५१ हजार राशीकै पत्रकारिता प्रतिभा पुरस्कारको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो ।
त्यस्तै, आफ्नी आमा÷हजुरआमा त्रिपुर–१ नारायणपुरकी लोककुमारी रिजालको स्मृतिमा प्रेस सेन्टर दाङमा लोककुमारी स्मृति पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरेकोमा सेन्टरका केन्द्रीय कार्यालय सदस्य अजयदीप शर्मा, शुभेच्छुकहरु हरिप्रसाद रिजाल, गणेश रिजाल, अर्जुन रिजाल र राधा रिजाललाई धन्यवाद ज्ञापन गरेको छ ।
सेन्टरका अध्यक्ष डिल्ली मल्लको अध्यक्षता एवं केन्द्रीय कार्यलय सदस्य अजयदीप शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले तीनवटै पुरस्कारका अक्षयकोषहरु घोराहीस्थित नमस्ते वित्तीय संस्था लि.मा राख्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले प्रेस सेन्टर दाङको कार्यसमिति सदस्यमा दीपक घिमिरे र अनिता पोख्रेललाई मनोनित गरेको छ । साथै सेन्टरका कार्यसमिति सदस्य सुमन ओलीले दिनुभएको राजीनामा पनि स्वीकृत गरेको बैठकपछि सचिव पाण्डव शर्माले बताउनुभएको छ ।
त्यस्तै, यही भदौ २९ गते नेपालगञ्जमा हुन गइरहेको सेन्टरको प्रथम प्रादेशिक अधिवेशनमा जिल्लाको तर्फबाट सक्रिय सहभागिता जनाउने निर्णय गरेको पनि सचिव शर्माले जानकारी दिनुभएको छ ।