रोल्पा, २३ भदौ । स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति रोल्पाले एक नगरपालिका र ६ गाउँपालिका हुने गरी प्रतिवेदन आयोगमा पठाएको छ । प्राविधिक समितिका संयोजक तथा स्थानीय विकास अधिकारी सुशील वैद्यले पत्रकार सम्मेलन गरी पुर्नसंरचनाको खाका सार्वजनिक गर्नुभएको हो ।
समितिका अनुसार १० गाविस जोडेर लिबाङ नगरपालिका प्रस्ताव गरिएको छ । नगरपालिकामा समेटिएका गाविसहरुमा भाबाङ, जंकोट, कोटगाउँ, ह्वामा, धबाङ, गजुल, खुमेल, लिबाङ, जेदबाङ र कोर्चाबाङका ३, ४, ५, ९ वडा रहेका छन् । जिल्लाका पूर्वी ८ गाविसलाई जोडेर लुङ्ग्री गाउँपालिका प्रस्ताव गरिएको छ । घोडागाउँ, खुंग्री, मिझिङ, पाङ, सिर्प, अरेश, तेवाङ र बडाचौर समेटेर सुलिचौर केन्द्र रहने गरी प्रस्ताव गरिएको छ ।
त्यसै गरी पूर्वी रोल्पा कै ९ गाविस जोडेर सुनछहरी गाउँपालिका पोबाङ केन्द्र रहने गरि प्रस्ताव गरिएको छ । जेल्बाङ, गाम, स्यूरी, सेरम, हार्जङ, उवा, गुम्चाल, जैमकसला र फगाम रहेका छन् । जलजला नामको उत्तरी केन्द्र ७ गाविसलाई जोडेर प्रस्ताव गरिएको छ । कुरेलीको खरिबोट वा राङ्कोटको पुत्लाखोला केन्द्र प्रस्ताव गरि थबाङ, मिरुल, राङ्कोट, पाछाबाङ, इरिबाङ, राङ्सी र कुरेली जोडिएको छ ।
थबाङलाई सम्बोधन गरि थबाङमै केन्द्र बनाउने प्रस्ताव थबाङ बाहेक अन्य सबै गाविस उसको विरोधमा आए पछि केन्द्र परिवर्तन गरिएको थियो । पश्चिमी ७ गाविसलाई जोडेर घर्तिगाउँ वा जिनाबाङको सुखाओडार केन्द्र रहने गरी राँक, पाखापानी, तालाबाङ, जिनाबाङ, ओत, घर्तिगाउँ र कोर्चाबाङका १, २, ६, ७ र ८ वडा समेटेको छ ।
यो प्रस्तावमा राप्रपा नेपाल रोल्पा बाहेक जिल्ला क्रियासिल सबै राजनीतिक दलको समर्थन समेत रहेको छ । केहि समय अगाडि ५ वटा गाउँपालिका बनाउने भनि जिल्ला स्तरमा राजनैतिक सहमति भएपछि जनस्तरबाट चर्को विरोध भएको थियो । भने नेकपा माओवादी केन्द्रका अध्यक्षले बैठक पुस्तिका पनि च्यातेका थिए ।।