मानव अधिकार सबैका लागी ठाउ भन्ने नाराका साथ हिजो कमैया महिला जागरण समाज नेपालल बर्दियामा छैठौं स्थापना दिवस मनाएको छ । कार्यक्रममा पश्चिम नेपालका बर्दिया, बाँके ,दाङ  कैलाली र कञ्चनपुर जिल्लाका मुक्त कमैयाहरुको उपस्थिति रहेको थियो । बर्दियामा जिल्ला बिकास समितिको सभा हलमा एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाईएको हो ।

Kisanकार्यक्रममा मुक्त कमैया सँग सरोकार राख्ने संघ संस्था, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, बिभिन्न राजनितिक दलका प्रतिनिधी लगायतको सहभागीता रहेको थियो । उक्त कार्र्यक्रममा मुक्त कमैयाहरुको पुरस्थापन र हालको अबस्थाको सन्दर्भमा मान बहादुर डाँगीले कायर्यपत्र प्रस्तुत गर्नुभएको थियो । कमैया महिला जागरण समाजकी अध्यक्ष कृष्णी थारुले भन्नुभयो ‘महिला अधिकार भित्र कमैया महिलाको सवाल उठाईदैन, हामीलेमात्रै बोलेर हुँदैनै । महिला अधिकारको कुरा गर्नेले विपन्न र पीडित महिला को हुन् भन्ने खोजीनीति हुनुपर्छ ।’ वर्षौँदेखि कमैया महिलाको सवाल उठाइरहे पनि महिला अधिकारभित्र कमैया महिलाको अधिकार खोज्नु पर्ने अवस्था रहेको उहाँको भनाई छ ।

सबैले सबै क्षेत्रबाट कमैया महिलाको सवाल उठाउनुपर्ने उहाँको भनाइ छ । शदियौंदेखि दासतामा बसेका कमैया महिला आफ्नो पहिचान, श्रमको सम्मान लगायतका प्रमुख सवाल बनाएर चौध वर्षदेखि विभिन्न तहमा, भिन्न प्रकारका आन्दोलन गरिरहेका छन् । साहुको ऋण र सोको व्याज तिर्न नसक्दा जमिन्दारको घरमा काम गर्न बाध्य अधिकांस थारु समुदायका मानिस बाँधाश्रमिकको रुपमा पुस्तौ पुस्ता धनि मानिसको घरमा काम गरेका थिए । बाँके, बर्दिया, दाङ्ग, कैलाली र कञ्चनपुरमा रहेको यो पर्थालाई कमैयाका अगुवाको दवाव, आन्दोलनका कारण तत्कालिन सरकारले २०५७ साउन २ मा सबै बाँधा श्रमिक मुक्त भएको घोषणा गरेको थियो ।

सरकारले कमैया श्रम अन्त्य गर्दा दासको रुपमा बसेका भनि भैंसवार, गैवार, बर्दिकार, छेकरवार, हरुवा, चरुवा, हली, गोठालो, कमलरिया वा अन्य यस्तै नामबाट श्रम गर्ने व्यक्तिलाई बाँधा श्रमिक हुन भनि कमैया श्रम (निषेध गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०५८ मा उल्लेख गरेको छ । यसरी बनेको कानुनका आधारमा घरमुली कमैया पुरुषलाई मात्र परिचय पत्र दिएको छ । तर, यो ऐनमा उल्लेख गरिएका महिलालाई सरकारले कुनै प्रकारका पहिचान दिएको छैन ।

सरकारबाट पुरुषले जस्तै महिलाले पनि परिचय पत्र पाउनु पर्ने भन्दै पाँचवटै जिल्ला करिब ३५ हजार कमैया महिला आफ्नो अधिकारका लागि संगठित भएका छन् । बर्दिया जिल्लामा कुल १६ हजार २ सय ६२ मुक्त कमैयाहरुको लगत संकलन भएकोमा अझै ९ सय ५४ जना मुक्त कमैया परिवारलाई घर बासको लागी पुरस्थापना गर्न बाकी रहेको, घर निर्माणको लागी काठ नपाएका ९ हजार ५ सय ४७ र घर निमार्णको लागी रकम पाउन बाँकी २ हजार ९ सय ७८ मुक्त कमैया रहेका छन । बर्दिया जिल्लामा २५० जनाले अझै परिचयपत्र पाउन बाकी रहेको जानकारी गराईएको छ । बिभिन्न राजनितिक पाटीका प्रतिनिधीहरु, मुक्त कमैयाहरुसँग सरोकार राख्ने सँघ संस्थाहरुले आआफनो धारणा राख्नु भएको थियो ।