काठमाण्डौ, ७ भदौ ।
विद्यालय खोल्ने तर प्रकावकारी काम गर्न नसकेका तराईका झण्डै ५ सय सामुदायिक विद्यालय बन्द भएका छन् । बिना पूर्वाधार, व्यापारमुखी, रोजगारमुखी र राजनितिक कारणले विद्यालय खोल्ने क्रम बढेको तर प्रभावकारी काम गर्न नसकेपछि बन्द भएको शिक्षा विभागले जनाएको छ ।
कम पूर्वाधार, थौरै विद्यार्थी र नजिक नजिकमा धेरै विद्यालय भएपछि समुदायको समर्थनमा बन्द गरिएको शिक्षा विभाग अन्तर्गतको सामुदायिक विद्यालय व्यवस्थापन शाखाले जानकारी दिएको छ । शाखाका उपनिर्देशक योगेन्द्रप्रसाद बरालका अनुसार गत वर्ष देशभरीका ७ सय ३० विद्यालय बन्द भएका थिए ।
त्यसमध्ये तराइैका ४ सय ९७ वटा छन् । तराईका सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, सप्तरी, महोत्तरी र धनुषा गरी ८ जिल्लामा विद्यालय बन्द हुनेको संख्या धेरै छ ।
