काठमाडौं । नेपाल–भारतबिचको परम्परागत सम्बन्धबाट माथि उठेर बहुआयामिक साझेदारी एकअर्काको सारथिमा परिणत गर्न प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण महत्वपूर्ण कडी साबित भएको छ । बर्सौं हुन नसकेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना कार्यान्वयन गर्न वा नवप्रवर्तनका नयाँ धार सबैतिर पुर्‍याउन भ्रमणले अग्रसर गरायो । रामायण सर्किट, शिवशक्ति सर्किट र बुद्ध सर्किटका बहुधार्मिक आयाममा पनि भ्रमणले शून्यबाट सयतिरको छलाङ लगाउने पाइला चाल्यो ।

भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको निमन्त्रणामा आइतबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको दिन भारत सरकारका विदेशमन्त्री सुब्रमन्यम जयशङ्करले स्वागत गर्नुभयो ।

नेपालमा विगतको अस्थिर राजनीतिको परिणाम भारतसँगको सहकार्यको चाहनामा पनि परेको अनुभूति गरेको भारतका प्रधानमन्त्री मोदीले बताउनुभयो । उहाँले संयुक्त पत्रकार सम्मेलनमा सम्बोधनका क्रममा भन्नुभयो, “प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घमा गर्नुभएको सम्बोधन देखेरै म अवाक् भएको थिएँ, उहाँको त्यो ओज देखेपछि त्यहीबेला मैले अब नेपाल र भारतको सम्बन्ध नयाँ ढङ्गले बढ्छ भनेर सोचिसकेको थिएँ ।”

गत महिना भोटेकोशी हिमबाढीले आक्रान्त पारेपछि संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको पीडा र राहतसँगै विश्वको ध्यानाकर्षण गराउनुभएको थियो । नेपालको हिमाल र जलवायु परिवर्तन छिमेकी र विश्वकै लागि घातक भएकाले सहकार्यका लागि प्रधानमन्त्री शाहले अपिल गर्नुभएको थियो ।

प्रधानमन्त्री शाहले पनि भारतसँगको सम्बन्धलाई नेपालको समृद्धि र जनताको खुसीसँग जोड्दै नयाँ ढङ्गले अगाडि बढाउन चाहेको बताउनुभएको छ । करिब २८ घण्टाको उच्चस्तरीय भ्रमणको कार्यदिशा सोमबार बिहानदेखि थप गहन बनेको थियो । प्रधानमन्त्री शाहलाई भारत सरकारका तर्फबाट राष्ट्रपति भवनमा सम्मान प्रदान गर्ने क्रममा भारतका प्रधानमन्त्रीले उहाँलाई गाडीमै लिन पुग्नुभयो । भारतका प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई आत्मीय आलिङ्गनमा कसेको दृश्यलाई सञ्चारकर्मीले तस्बिरमा कैद गरे ।

हैदराबाद भवनमा उच्चस्तरीय वार्ताका लागि फेरि केहीबेरमा दुई प्रधानमन्त्रीको भेट भयो । त्यहाँ दुई प्रधानमन्त्रीले केहीबेर एक्लाएक्लै भेट गर्नुभयो । त्यसपछि अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारसहितको प्रतिनिधिमण्डलसँग भारतका प्रधानमन्त्री मोदीको प्रतिनिधिमण्डलको दुई घण्टा उच्चस्तरीय वार्ता चल्यो । उच्चस्तरीय वार्तालाई टुङ्ग्याउन परराष्ट्रमन्त्री खनाल, भारतका विदेशमन्त्री जयशङ्कर र प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार व्यञ्जनकार सक्रिय रहनुभयो ।

अरुण तल्लो विद्युत् उत्पादन सम्झौता होस् वा सम्पर्क सञ्जालको साझेदारीका मुद्दा नपुगेका र नमिलेका विषय मिलाउन उहाँहरूले प्रधानमन्त्रीद्वयको काँधमा काँध मिलाउनुभयो । पत्रकार सम्मेलन सुरु हुनै लाग्दा विदेशमन्त्री जयशङ्करले परराष्ट्रमन्त्री खनाल र प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार व्यञ्जनकारलाई बोलाएर लैजानुभयो । उहाँहरूबिच चलेको आधा घण्टा छलफलपछि नमिलेका कुरा मिलाएर संयुक्त रूपमा घोषणायोग्य बनाइयो ।

सम्बन्धका आयाम दुई देशबिच कम छैनन् । चाहे विपत् होस् वा समृद्धिको शिखर दुई देश एकसाथ यात्रा गर्न तत्पर छ भन्ने सन्देश दुई देशका प्रधानमन्त्रीले सोमबार दिनुभएको छ ।

जेनजी आन्दोलन र गत फागुनको आमनिर्वाचनपछि गठित सरकार प्रमुखबाट छिमेकी मुलुकमा भएको पहिलो द्विपक्षीय भ्रमणले राष्ट्रहित प्रवर्धन गर्ने दिशामा आर्थिक वृद्धि, विकास र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढेको छ । मित्रराष्ट्र भारतसँग रहिआएको सताब्दिऔँ पुरानो घनिष्ठ सम्बन्धलाई बहुआयामिक सहकार्यमा बदलेर नागरिकले प्रत्यक्ष अनुभूत र लाभ प्राप्त गर्ने दिशामा केन्द्रित रहन भ्रमण सफल भएको छ । जनताको सुख र खुसी नै वास्तविक राष्ट्रहित हो भन्ने भावलाई दुई प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमार्फत नेपाली र हिन्दी भाषामा प्रस्तुत गरियो । नेपाल–भारत सम्बन्धलाई सकारात्मक लयमा लिँदै भावी पुस्तालक्षित ‘विकसित भारत–समुन्नत नेपाल’ सम्बन्धी संयुक्त दूरदृष्टि दस्ताबेज जारी भएको छ । जसले दुई छिमेकी मुलुकको सम्बन्धलाई अत्याधुनिक युगसँग साक्षात्कार गराउने लक्ष्य लिएको छ । जसले आर्थिक तथा विकास साझेदारी, भौतिक तथा विद्युतीय सञ्जालको विस्तार, ऊर्जामा अतुलनीय सहकार्य बोल्छ । प्रधानमन्त्री मोदीको प्रस्ट धारणा थियो, “भारतको समृद्धि नेपालको ऊर्जा र यहाँको युवामैत्री सोचसँग जोडिएको छ, नेपालको विकास पनि भारतको लगानी र सहकार्यमा अडिएको छ, जसलाई दुई देशको सरकारले भविष्यमा हुने साझेदारी कार्यान्वयनबाट जोड्न सक्छ ।”

विपत् उत्थानशील साझेदारीसँगै विपत् जोखिम न्यूनीकरण, खेलकुद, कृषि, शिक्षा, स्वास्थ्य, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष तथा नवप्रवर्तन जस्ता नयाँ, संस्कृति तथा पर्यटन र उदीयमान क्षेत्रमा भावी सहकार्यको मार्ग यस भ्रमणले प्रशस्त पारेको छ । दूरदृष्टि दस्ताबेजले प्रधानमन्त्री मोदीले सन् २०१४ मा बोल्नुभएको कुरालाई कार्यान्वयनमा लैजाने बाटो देखाएको छ । जस अनुसार आवश्यक परेमा दुई देशका पुराना सन्धि, सम्झौता र सहमतिलाई पनि परिमार्जन गर्ने पक्षमा दिल खुला बनाएको छ ।

प्रमुख सहमति र आयोजना

विकास सहायता : विपत्पछिको पुनर्निर्माण र नयाँ पूर्वाधार आयोजनाका लागि पाँच हजार छ सय करोड नेपाली रुपियाँ अनुदान तथा ऊर्जा परियोजनाका लागि १८ हजार चार सय करोड रुपियाँ बराबरको ऋण सहायता उपलब्ध गराउने ।

कृषि र पूर्वाधार :  भारतको अनुदान सहयोगमा चितवनमा एग्रो इन्डस्ट्रियल पार्क स्थापना गर्ने तथा नेपालमा राष्ट्रिय प्रहरी प्रतिष्ठान निर्माणलाई अघि बढाउने ।

हवाई सम्पर्क :  काठमाडौँ–भैरहवा–लखनउको एकतर्फी बी ३४५ हवाईमार्गलाई दुईतर्फी बनाउने सहमति । यसका प्राविधिक पक्ष र कार्यान्वयनको तौरतरिका टुङ्ग्याउन परामर्श गर्ने ।

रेल सम्पर्क : अयोध्या–जनकपुरधाम सरयु–कमला एक्सप्रेस रेलसेवा शुभारम्भ, रक्सौल–काठमाडौँ विद्युतीय ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्भे सम्पन्न भएको घोषणा तथा नेपालको पूर्वपश्चिम रेलमार्ग विकासमा सहकार्य गर्ने ।

सीमा पूर्वाधार : भारतको वनवासामा एकीकृत जाँचचौकी शिलान्यास तथा भैरहवा, सुनौली र दोधारा चाँदनीका जाँचचौकी निर्माणलाई अघि बढाउने । दार्चुला र भारतको धारचुलाबिच नयाँ मोटरेबल पुल उद्घाटन ।

पेट्रोलियम पूर्वाधार : मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन, झापामा पेट्रोलियम टर्मिनल निर्माणको शिलान्यास तथा सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइनको काम शीघ्र सुरु गर्न नेपालको जोड । ग्यास पाइपलाइन निर्माणमा समेत सहकार्य खोज्ने ।

जलविद्युत् र जलस्रोत : ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास तथा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० शीघ्र टुङ्ग्याउन निर्देशन । सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको डिपिआरलाई तीव्रता दिन सहमति ।

विद्युत् प्रसारण : इनरुवा–न्यु पूर्णिया र दोधारा–बरेली अन्तरदेशीय उच्च क्षमताका दुई विद्युत् प्रसारण लाइन निर्माणका लागि संयुक्त लगानी कम्पनी गठनसम्बन्धी प्रगतिको स्वागत गर्ने ।

शिक्षा र प्रविधि : नेपालमा भारतीय प्रविधि संस्थान ९आइआइटी० को शाखा क्याम्पस स्थापना गर्ने तथा स्टार्टअप, डिजिटल र वित्तीय सम्पर्क विस्तारमा सहकार्य गर्ने ।

बन्दरगाह पहुँच : नेपालको पारवहन व्यापारका लागि गुजरातस्थित काण्डला दीनदयाल बन्दरगाहको पहुँच उपलब्ध गराउने र आवश्यक पूर्वाधार बनेपछि पारादीप बन्दरगाहसम्म पहुँच विस्तार गर्ने ।

नेपालमा बसोबास गर्ने भारतीय र भारतमा बसोबास गर्ने नेपाली नागरिकलाई बैङ्किङ तथा दूरसञ्चार सेवा सहज बनाउने ।

सीमा व्यवस्थापन : सीमास्तम्भ मर्मत तथा सम्भारसम्बन्धी संयुक्त स्थलगत कार्यलाई निरन्तरता दिने र बाँकी सीमा समस्यामा परराष्ट्र सचिवहरूलाई काम अघि बढाउन निर्देशन दिने । गोखापत्रबाट