काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा आगामी असोज ६ देखि १० गतेसम्म संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागिता नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकले शिक्षक सेवा आयोगको अध्यक्षमा भक्तपुरका डा हरिप्रसाद लम्साल तथा सदस्यमा मकवानपुरका रामशरण सापकोटा र महिला सदस्यमा काठमाडौँकी विष्णु घिमिरे रिमाललाई नियुक्त गर्नेलगायतका निर्णय गरेको छ ।
मन्त्रीपरिषद् बैठकका निर्णयहरु
१) संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा २०८३ असोज ६ देखि १० गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यूको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने।
२) भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत अन्तरसरकारी उपसमिति (आइजीएससी) को बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने ।
३) अनुचित लेनदेन (मिटर ब्याज) अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने।
४) काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका कूल २७ स्थानीय तहहरूका १७ हजार ४३८ गरिब घर परिवारको सूची स्वीकृत गर्ने।
५) शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल (भक्तपुर) र सदस्यमा श्री रामशरण सापकोटा (मकवानपुर) एवं महिला सदस्यमा श्री विष्णु घिमिरे रिमाल (काठमाडौँ) लाई नियुक्ति गर्ने।
६) सहसचिव श्री विनोदबहादुर कुँवरलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने।
७) सहसचिव श्री उत्तरकुमार खत्रीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने।











