काठमाडौँ । प्रधानन्यायधीश सिफारिसको विषयलाई लिएर सर्वोच्च अदालतमा चरम विवाद सिर्जना भएको छ। संवैधानिक परिषद्ले चौथो नम्बरका न्यायाधीशलाई प्रधानन्यायधीशमा डा मनोजकुमार शर्मालाई सिफारिस गरेपछि त्यसको असर सर्वोच्चमा देखिएको छ ।
सोमवार कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक परिषद्को प्रधानन्यायधीश सिफारिसविरुद्ध दायर दरपिठ निवेदन दर्ता गरेर पेसी तोक्न आदेश दिएकी थिइन्। तर त्यो आदेश अदालतका कर्मचारीले कार्यान्वयन गरेनन् । रिटको पेशी दर्ता गर्न छाडेर कर्मचारी कार्यकक्ष नै छाडेर हिँडेका थिए।
यता नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सिर्जना गरेको भन्दै आपत्ति जनाएको छ।
बारले अदालत प्रशासनको यस्तो कार्यलाई ‘समानान्तर न्याय प्रशासन’को अभ्यास भन्दै तत्काल अन्त्य गर्न माग गरेको छ । बार एसोसिएसनले आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ। बारले जेठ ५ गते दिउँसो १ः१५ बजे बार प्राङ्गणमा लालटिन बालेर अदालत प्रशासनको कार्यशैलीविरुद्ध विरोध प्रदर्शन गर्ने जनाएको छ। साथै आगामी दिनमा सल्लाहकार र इकाइबाट प्राप्त सुझावका आधारमा थप कार्यक्रम सार्वजनिक गरिने उल्लेख गरिएको छ।











