काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले विधिद्वारा स्थापित पद्धति र परम्पराको पालना तथा कार्यान्वयनमा तलमाथि हुन थाल्यो भने त्यसको प्रतिकुल प्रभावले मानव समाज भयभित हुन थाल्दछ भन्ने पनि हामीले बिर्सन हुन्न बताउनुभएको छ ।
कानुन दिवस २०८३ का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कानुन दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा र सहारा हुनुपर्ने बताउनुभयो ।
“त्यसैले सुशासन, अमन, शान्ति, समृद्धि र मर्यादाका लागि विधि र थिति औजार र उपचार दुबै हुन् भनेर सम्झने र बुझ्ने पुनित दिनलाई नै कानुन दिवसको रूपमा मनाइन्छ, कानुन दिवसको यही मर्मलाई आत्मसात गर्न सकेमात्र आत्मनिर्भर र सम्वृद्ध नेपालको कल्पना गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।
राष्ट्रपति पौडेलले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध प्रणालीको व्यवस्था गरेको छ भन्नुभयो ।











