बाँके । चैत १४ गते राति नेपालगन्ज १२ कोरियनपुरमा जलेको अवस्थामा भेटिएकी सिर्जना बुढा मगरको मृत्यु जलनकै कारण भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ ।

भेरी अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा सिर्जनाको मृत्यु जलनकै कारण भएको उल्लेख भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिएका छन् । राति करिब १२ बजेको समयमा कोरियनपुरमा सिर्जना आगोले जलेको अवस्थामा भेटिएको र उपचारका लागि भेरी अस्पतालमा लगेपछि राति १ः२० बजे चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।

नेपालगन्ज ८ रानीतलाउमा डेरा गरी बस्दै आएकी सिर्जना उनीसँग लिभिङ टुगेदरमा बस्दै आएका आरिफ ढपालीको घर नजिकै आगोले जलेको अवस्थामा भेटिएको थियो । सिर्जनाका आफन्तले आरिफलगायत उनका परिवारका सदस्यविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् । घटनापछि भागेर भारत पुगेका आरिफलाई प्रहरीले अर्को दिन नै पक्राउ गरिसकेको छ भने उनकी आमा र दिदीलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

पहिलेको श्रीमानबाट सम्बन्धी विच्छेद गरेर आरिफसँग लिभिङ टुगेदरमा रहेकी सिर्जनाको आरिफसँग पनि सम्बन्ध खटपटपूर्ण भएको प्रहरीले जनाएको छ । सिर्जनाको मृत्यु भएको अघिल्लो दिन पनि सिर्जना र ती आरिफबिच खटपट भएको र सिर्जनामाथि कुटपिट भएपछि उनले प्रहरीलाई खबर गरेकी थिइन् । त्यसपछि प्रहरीले ती व्यक्तिलाई हिरासतमा राखेको थियो । तर शनिबारै सिर्जनाले मिलापत्र गरी ती व्यक्तिलाई प्रहरीबाट छुटाएर लिएर आएको प्रहरीको भनाइ छ । मिलापत्र भएकै राति उक्त घटना भएको थियो ।