घोराही । आर्थिक वर्ष २०७९/०८० मा सुरु भएको घोराही उपमहानगरपालिका ६, चैनपुरमा सुरु भएको सौडियार २, ३ ४ स्किम नम्बर ४ खानेपानी आयोजना बजेट अभावका कारण पूरा हुन सकेको छैन ।
बहुवर्षीय आयोजना अन्तर्गत करिब १५ करोडको लागत अनुमान गरिएको खानेपानी आयोजनाका लागि चैनपुरमा डिप बोरिङ खन्ने, ओभरहेड ट्याङ्की निर्माणदेखि विद्युतीकरणको काम भइसके पनि ट्रान्सफर्मर जडानदेखि पाइप विस्तार लगायतको काम नहुँदा छ सय घर परिवारलाई पानी पुर्याउने आयोजना सञ्चालन हुन नसकेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष हेमराज वली जानकारी दिए ।
खानेपानी आयोजना समयमै निर्माण नहुँदा स्थानीयलाई खानेपानीको समस्या बढ्दै गएको अध्यक्ष वली बताउछन् । गर्मी दिनमा खानेपानीको थप समस्या बढ्ने भएकाले वर्षौ अघिदेखि सुरु भएको खानेपानी आयोजना सञ्चालनको माग गर्दै अध्यक्ष वलीले भने,“खानेपानीको डिप बोरिङ खन्नेदेखि ओभरहेड ट्याङ्की निर्माणलगायतको काम भइसकेको छ। ट्रान्सफर्मर जडानसँगै पाइप विस्तार गरेर पानी वितरण गर्न गर्न सकिन्छ तर हुन सकेको छैन ।”
त्यसका लागि आवश्यक बजेटको व्यवस्थापन गरेर खानेपानी आयोजना सञ्चालन गरिदिन माग गर्दै खानेपानी तथा सरसफाइ कार्यालयमा ज्ञापनपत्र बुझाएको वलीले यो वर्ष पनि आयोजना पूरा हुने अवस्था नरहेको बताए ।
चैनपुरमा निर्माण भइरहेको खानेपानी आयोजनाको जस्तै समस्या गढवा गाउँपालिका(७, चन्दनपुरस्थीत चन्दनपुर खानेपानी आयोजनाले पनि बजेटको समस्या झेल्दै आएको छ ।
सङ्घीय सरकारको तराई मधेश खानेपानी सुधार कार्यक्रम अन्तर्गत निर्माण भइरहेको खानेपानी आयोजना विगत तीन वर्षअघि सुरु भए पनि निर्माण सम्पन्न हुन सकेको छैन ।
खानेपानी आयोजनाको ओभरहेड ट्याङ्की निर्माण, पाइप विस्तार लगायतको आधा बढी काम भइसके पनि बजेट अभावका कारण बाँकी काम हुन नसकेको स्थानीय बुद्धिराज आचार्य बताए । उनका अनुसार खानेपानी आयोजना सम्पन्न नहुँदा स्थानीयले सुख्खा समयमा खानेपानीले बर्सेनि समस्या झेल्ने गरेका छन् ।
घोराही ६ मा रहेको सौडियार २, ३ ४ स्किम नम्बर ४ खानेपानी आयोजना र गढवा–७ मा रहेको चन्दनपुर खानेपानी आयोजना जस्तै सङ्घ सरकारको ससर्त अनुदान अन्तर्गत जिल्लामा निर्माण भइरहेका ५८ वटा खानेपानी आयोजना बजेट अभावका कारण समस्यामा परेको खानेपानी तथा सरसफाइ कार्यालय दाङका प्राविधिक गजेन्द्र बहकरी बताए ।
कार्यालयका प्राविधिक बहकरीका जसमा तराई मधेश खानेपानी सुधार कार्यक्रम अन्तर्गत ५० वटा र जलवायु अनुकुलित बृहत् खानेपानी आयोजना अन्तर्गत आठ वटा खानेपानी रहेका छन् ।
बजेट अभावका कारण समस्यामा परेका खानेपानी योजनामा आन्ध्राभरैया खानेपानी आयोजना, लक्ष्मीपुर(२, झिंङ्नी डिपबोरिङ खानेपानी आयोजना, धर्ना खानेपानी आयोजना, हापुर रतनपुर खानेपानी आयोजना, गैरागाउँ खानेपानी आयोजना, सुनपुर खानेपानी आयोजना, चैलाही वनगाउँ खानेपानी आयोजनालगायतको बताए गोखापत्रमा लीलाधर वलीले लेखेका छन्। उनका अनुसार विगत ७, ८ वर्षअघि सुरु भएका खानेपानी आयोजना समेत अझै पूरा हुन नसकेको छैन ।
बजेट अभावका कारण रोकिएका खानेपानी आयोजनाको नाम र पूरा गर्नका लागि लाग्ने बजेटको लागत स्टिमेट सहरी विकास तथा खानेपानी मन्त्रालयबाट माग भएकाले खानेपानी आयोजनाको लागत स्टिमेट तयार गर्ने काम भइरहेको प्राविधिक बहकरीले भने,“दाङका विभिन्न ठाउँमा सङ्घीय सरकारबाट सुरु भएर निर्माण पूरा नभएका ५८ वटा खानेपानी आयोजना रहेका छन् । त्यी आयोजनाको गर्नुपर्ने काम र त्यसका लागि आवश्यक पर्ने बजेट निकाल्ने काम भइरहेको छ ।”











