काठमाडौं । आज शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार । यो समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । ‘ल्हो’ अर्थात् वर्ष अनि ‘छार’ अर्थात् नयाँ भनिन्छ । शेर्पा समुदायले ग्याल्पो ल्होसारलाई नयाँ वर्षका रुपमा मनाउने गर्छन् ।

शेर्पा समुदायले आज आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा एकआपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ ।

पारिवारिक एवम् सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा यो पर्वलाई लिइन्छ । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्ष शुरू हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ । ग्याल्पो ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।