दाङ । ज्ञानसिन्धु एजुकेसनल एकेडेमी घोराहीमा खेल सप्ताह शुरु भएको छ । मंसिर १७ गतेबाट शुरु भएको खेल सप्ताह २२ गतेसम्म चल्नेछ ।
विद्यालयका प्रिन्सिपल हुकुमबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन घोराहीका अध्यक्ष बालकृष्ण ओलीले सप्ताह उद्घाटन गरे । विद्यार्थीहरुलाई मार्चमासमा झण्डा हस्तान्तरण गरेर सप्ताहको उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले ज्ञानसिन्धुले शैक्षिकसँगै अतिरिक्त क्रियाकलाप अघि बढाएको उल्लेख गर्दै हरेक वर्ष हुने प्याव्सन शील्डमा उत्कृष्ट नतिजा हात पार्ने गरेको बताए। अध्यक्ष ओलीले यो प्रगति विद्यालयको मात्र नभई प्याव्सन घोराहीकै सम्पत्ति र गौरवको रुपमा रहेको बताए। गत वर्ष प्याव्सन शील्डमा ४१ विद्यालयमध्ये उत्कृष्ट भएको उल्लेख गर्दै उनले शैक्षिक सिकाई क्रियाकलाप कक्षा कोठाबाट मात्र नभई समग्र अभ्यासबाट हुने बताए ।
सो अवसरमा खेल सप्तामा दर्जन बढी विधामा खेल खेलाइने र सबै विधामा उत्कृष्ट हुने हाउसले विद्यालयस्तरीय शील्ड प्राप्त गर्ने विद्यालयका संयोजक हेमराज पौडेलले जानकारी दिएका थिए । विद्यालयका सहायक प्रिन्सिपल टंक शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन शिक्षक देवराज भण्डारीलले गरेका थिए ।
ज्ञानसिन्धु एजुकेसनल एकेडेमीमा मन्टेश्वरीदेखि कक्षा १२ सम्म करिव एक हजार दुई सय बढी विद्यार्थी छन् । यही शैक्षिक संस्थासँग निकट रहेको राप्ती शिक्षा क्याम्पसमा विभिन्न विषयमा स्नातक र स्नातकोत्तर तहको अध्ययन अध्यापन हुँदै आएको छ ।











