दाङ । दशैं र तिहारको बीचमा जिल्लाका विभिन्न स्थानमा जुवा खेल्दै गरेको अवस्थामा ८८ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूबाट ११ लाख ८६ हजार नगद समेत बरामद गरेको छ ।

पक्राउ परेकामध्ये घोराही उपमहानगरपालिका क्षेत्रबाट ४४ जना, तुलसीपुर उपमहानगरपालिका क्षेत्रबाट ३० जना र राप्ती गाउँपालिका क्षेत्रबाट १३ जना रहेका छन्। जुवा खेल्नेहरुलाई नियन्त्रण गर्न दाङ प्रहरीले विशेष सूचना र निगरानीमार्फत कडाइका साथ अभियान सञ्चालन गरेको थियो ।

पक्राउ पर्नेमा जनप्रतिनिधिदेखि लिएर वर्षौंदेखि लुकिछिपी जुवा खेल्दै आएका व्यक्तिहरू पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी चक्रबहादुर शाहीले बताए ।

उनीहरुमाथि जुवाताससम्बन्धी मुद्दा दर्ता गरी आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रवक्ता शाहीले बताए । चाडपर्वको समयमा ठूला ठूला दाउ राखेर जुवा खेल्ने विकृतिको रुपमा देखा पर्न थालेका छन् ।