लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका शिक्षालाई व्यवहारिक कूटनीतिक अभ्यासमा रूपान्तरण गर्नु आजको आवश्यकता भएको बताएका छन् ।

‘कूटनीति र बुद्धका शिक्षाः विश्व शान्ति तथा दिगो विकासतर्फको मार्ग’ विषयक अन्तर्राष्ट्रिय संगोष्ठीको आइतबार लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले गौतम बुद्धको शिक्षा द्वन्द्वभन्दा संवाद, प्रतिस्पर्धाभन्दा सहयोग र द्वेषभन्दा मित्रता निर्वाह गर्ने मूल्यमान्यतामा आधारित रहेको बताउनु भएको हो । बुद्धका शिक्षाले अन्तर्राष्ट्रिय कूटनीतिमा दीगो शान्ति, आपसी सम्मान र समताको भावना स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ’, उनले भने ।

मुख्यमन्त्री आचार्यले लुम्बिनीलाई केवल धार्मिक स्थलका रूपमा नभई मानवता, सहिष्णुता र अहिंसाको प्रतीकका रूपमा चिनाउनुपर्ने आवश्यकता औंल्याए । ‘लुम्बिनी विश्व शान्तिको सन्देश फैलाउने केन्द्र हो । यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरूबाट यसको कूटनीतिक महत्व अझ विस्तार हुन्छ,’उनले भने।

नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र धार्मिक रूपले अन्योन्याश्रित रहेको उल्लेख गर्दै आचार्यले बुद्ध धर्म, भाषा, लिपि, परम्परा र दर्शनको साझा आधारमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन शिक्षा, अध्ययन, अनुसन्धान तथा सांस्कृतिक सहकार्यलाई सशक्त माध्यमका रूपमा प्रयोग गर्न सकिने धारणा रा।

उनले लुम्बिनीको समग्र विकासका लागि प्रदेश सरकारले अघि सारेको ‘लुम्बिनी विकास प्राधिकरण’ अवधारणाले कपिलवस्तुदेखि रामग्रामसम्म फैलिएको सम्पूर्ण बौद्ध सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा सघाउ पु¥याउने विश्वास व्यक्त गरे ।

संगोष्ठीमा भारत, नेपाल तथा अन्य राष्ट्रहरूबाट सहभागी विभिन्न विश्वविद्यालयका उपकुलपति, कूटनीतिज्ञ, बौद्ध चिन्तक, विशिष्ट पाहुना, भिक्षु, भिक्षुणी तथा प्राज्ञिक व्यक्तिहरूको उपस्थिति रहेको छ ।