नवलपरासी । नवलपरासीको सुनवलमा एक युवाले आफ्नै बुबासहित दुई जनाको हत्या गरेका छन् । सुनवल नगरपालिका–२ मा २५ वर्षीय हेमराज थारुले कोदालो प्रहार गरी बुबासहित दुई जना निर्मम हत्या गरेका हुन्।
थारुले शुक्रबार बिहान करिब साढे १० बजे आफ्नै बुबा ५० वर्षीय जयराम थारुलाई कोदालो प्रहार गरी हत्या गरे भने बुबालाई बचाउन आएका छिमेकी ७० वर्षीय नाथु धरिकारलाई समेत आक्रमण गरी हत्या गरेका छन्। दुबै जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
हत्या पछाडि मनोवैज्ञानिक समस्या वा अन्य कुनै पारिवारिक विवादको कारण हुन सक्ने अनुमान गरिएको छ। घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान कार्य थालेको छ । स्थानीय बासिन्दाहरू घटनाबाट स्तब्ध बनेका छन्। प्रहरीले घटनाको विस्तृत विवरण संकलन गरिरहेको छ भने अभियुक्त हेमराज थारुलाई जिल्ला प्रहरी कार्यालय परासीमा राखेर सोधपुछ भइरहेको छ।











