दाङ । घोराहीस्थित भिक्टोरीया इन्टरनेशनल कलेजले प्रकाशन गरेको अनुसन्धान मुलक जर्नल Ôभिक्टोरीय जर्नल अफ म्यानेजमेन्टको शुक्रबार बिमोचन गरिएको छ ।
गोरखा ग्रुपका प्रमुख कार्यकारी अधिकृत नोवल जिएमको अध्यक्षता र पोखरा विश्वविद्यालयका सह प्राध्यापक भरतराम ढुंगानाको प्रमुख आतिथ्यतामा कलेजमा सम्पन्न कार्यक्रममा जर्नल बिमोचन गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढुंगानाले अनुसन्धान मुलक लेखनले शैक्षिक उन्नतीमापन गर्ने भएकाले कलेजले अनुसन्धान मुलक लेखनमा जोड दिनुपर्ने सुझाव दिए । जर्नलका प्रधान सम्पादक समेत रहेका ढुंगानाले जर्नलको गुणस्तर कायम गर्न अधिकतम प्रयास गरिएको बताए ।
गोरखा ग्रुपका प्रमुख कार्यकारी अधिकृत जिएमले भिक्टोरीय कलेजलाई अध्ययन र अनुसन्धानको केन्द्रका रुपमा विकास गर्न बिद्यार्थी र प्राध्यापकहरुमा सिर्जनशिलता जरुरी रहेको बताए । गोरखा ग्रुपका अध्यक्ष बिष्ण्ु घर्ती मगरले लाहुरेहरुले शुरु गरेको शैक्षिक समूह अहिले एक उदाहरणीय अगुवा संस्थाका रुपमा स्थापित भएको बताए ।
बिद्यार्थी र प्राध्यापकहरुलाई अध्ययन र अनुसन्धानमा प्रोत्साहन गर्न जर्नल प्रकाशन शुरु गरेको कलेजका कार्यक्रम निर्देशक केवी चौधरीले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष दुर्गालाल केसीले अनुसन्धान मुलक जर्नल शैक्षिक संस्थाको प्रगतिको मापन भएकाले यसको निरन्तरता हुनुपर्ने धारणा व्यक्त गरे । कलेजका प्राध्यापक तारा बहादुर केसीले व्यवस्थापन क्षेत्रमा अनुसन्धान गर्नुपर्ने क्षेत्र व्यापक भएकाले त्यसतर्फ लेखन बढाउनुपर्ने सुझाव दिए ।











