काठमाडौं । सरकार बनेदेखि नै कुलमान हटाउन सक्रिय वर्तमान सरकारले अन्तः देशलाई लोडसेडिङमुक्त बनाएका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ । प्रधानमन्त्री केपी ओली र ऊर्जामन्त्री दीपक खड्काले आठ महिनापछि सोमबार मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर कुलमानलाई हटाएका हुन् ।

मन्त्रीस्तरीय निर्णयबाट पटक–पटक अनावश्यक विवरण माग्दै र स्पष्टीकरण सोध्दै कुलमानमाथि दबाब दिँदै आएको सरकारले पछिल्लोपटक २१ फागुनमा मन्त्रिपरिषद्बाटै निर्णय गरेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । त्यसकै आधारमा २२ फागुनमा मन्त्रालयले तीन दिन समय दिएर स्पष्टीकरण सोधेको थियो ।

कुलमानले २५ फागुनमै स्पष्टीकरण बुझाएकोमा सरकारले दुई सातापछि जवाफ चित्तबुझ्दो नभएको भन्दै हटाएको हो । जबकि कुलमानले देशलाई लोडसेडिङमुक्त मात्रै होइन, भारतसँगको विद्युत् व्यापारमा इतिहासमै पहिलोपटक यसै वर्ष मात्र नेपाललाई नाफा दिलाए भने बंगलादेशसँग विद्युत् व्यापार सुरु गरेका थिए।

बिजुलीको अर्बौँ बक्यौता उठाएर सरकारी ढुकुटीमा ल्याउन खोजेपछि कुलमानलाई हटाउने अभियानमा थियो बिचौलिया समूह । कुलमानलाई हटाएसँगै बिचौलियाको लक्ष्य पूरा भएको छ ।