काठमाडौं । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने क्रममा सडकमा फोहोर गरेको र किनारका बिरुवामा क्षति पुर्याएको भन्दै काठमाडौं महानगरपालिकाले राप्रपालाई एक लाख जरिवाना तोकेको छ ।
महानगरपालिकाले राप्रपा केन्द्रीय कार्यालयलाई आइतबार नै यससम्बन्धी पत्र पठाएको छ । ‘मिति २०८१ फागुन २५ गते ताहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरूबाट एयरपोर्ट, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आइल्यान्ड र सोमा रहेका बिरुवाहरू साथै रेलिङमा भौतिक क्षति र जथाभावी रूपमा फोहोरमैलासमेत गरी वातावरण प्रदूषण गरेकोले तपाईंलाई फोहोरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम एक लाख जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ,’ महानगरपालिकाका नगर प्रहरी निरीक्षक लीलाराज गाछा थापामगरको हस्ताक्षरमा पठाइएको पत्रमा भनिएको छ । पत्रको बोधार्थ निर्वाचन आयोग र महानगरको प्रशासन शाखालाई दिइएको छ ।
यसअघि २७ चैत ०८० मा पनि राप्रपाको प्रदर्शनबाट महानगरपालिकाको ट्राफिक आइल्यान्डमा क्षति पुगेको तथा फोहोरमैला भएको भन्दै महानगरपालिकाले ट्राफिक आइल्यान्ड मर्मतसम्भार गर्न २२२ रुपैयाँ ८१ पैसा असुल र फोहोरमैला व्यवस्थापन ऐन बमोजिम पाँच हजार रुपैयाँ जरिवाना गराएको थियो ।











