इन्द्रेणी संवाददाता
दाङ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संघीय सञ्चित कोषबाट तल्ला तहमा प्रदान गरिने वित्तीय समानीकरण अनुदान सिफारिसका लागि तयार गरिएको कार्यसम्पादन सूचकमा देशभरका उपमहानगरपालिकामध्ये सबैभन्दा बढी अंक दाङको घोराही उपमहानगरपालिकाल पाएको छ ।
सूचकमा घोराही उपमहानगरपालिकाले कूल १०० अंकमा ६६.९ अंक पाएको छ । योसँगै कार्यसम्पादनमा घोराही उपमहानगरपालिका देशकै उत्कृष्ट उपमहानगरपालिकामा परेको हो ।
त्यसैगरी प्रदेशमा सुदूरपश्चिमले ५१.६, महानगरमा भरतपुरले, ७६.२, नगरपालिकामा अमरगढीले ८१.७ र गाउँपालिकामा नेत्रावती डबजोङले ७८.२ अंक पाएका छन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको यो कार्यसम्पादन मूल्यांकनले प्रदेश र स्थानीय तहका क्षमता, वित्तीय पारदर्शिता, वित्तीय अनुशासन, विकास, सुशासनलगायत कार्यसम्पादनलाई इंगित गर्छ । कार्यसम्पादन मूल्यांकन गर्न स्थानीय तहका लागि २७ सूचक तय गरिएका थिए ।











