सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले संसदमा दर्ता गराएको विभिन्न अध्यादेशहरू पास नहुने दाबी गरेका छन् ।

प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशले मङ्गलवार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले संसद छलेर ल्याइएका ती अध्यादेशहरू आफूहरूलाई अस्वीकार्य भएकोले बहुमत नपुग्ने हुँदा पास नहुने बताए ।

प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका अध्यक्ष प्रचण्डले जनता समाजवादी पार्टीसँग पनि छलफल भएकोले उसले पनि अध्यादेशको विपक्षमा मत जाहेर गर्ने बताए । वर्तमान सरकारलाई दुई तिहाइको अहंकार नपाल्न सुझाव दिँदै अध्यक्ष प्रचण्डले बहुमतको बलमा पेलेर नजान पनि सचेत गराए । सरकारले बहुमतका आधारमा अध्यादेश ल्याएको आरोप लगाउँदै उनले पेलेर नजान पनि आग्रह गरे ।

प्रचण्डले अहिले आफ्नो पार्टी सरकार ढाल्ने र नयाँ बनाउने खेलमा पनि नलाग्ने र कांग्रेस एमाले गठबन्धनको सरकार २०८४ पछि पनि जाओस् भन्ने शुभकामना दिए ।