बाजुरा । बाजुराका नागरिकलाई नुन किन्न वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ । बाजुरामा आवश्यकभन्दा बढी नुन प्रयोग हुन थालेपछि वडाको सिफारिस लिन थालिएको हो ।
नागरिकताका आधारमा सहुलियतको नुन उपलब्ध गराउने गरिएको थियो । यसरी उपलब्ध गराइएको नुन बाजुराभन्दा बाहिरका जिल्लामा पठाउने गरिएको पाइएपछि वडाको सिफारिस लिन थालिएको साल्ट ट्रेडिङ बाजुराका कार्यालय प्रमुख टेक बोहराले जानकारी दिए । उनका अनुसार नुन धेरै मात्रामा खपत हुन थालेपछि जिल्ला प्रशासन कार्यालयको मातहतमा सर्वपक्षीय बैठक बसेर २०८१ मङ्सिरदेखि नुन लिन वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको हो ।
बाजुराको जनसङ्ख्या एक लाख ३८ हजार ५९८ रहेको छ । सरकारले प्रत्येक नागरिकलाई वर्षमा चार केजी सहुलियतको नुन वितरण गर्नका लागि बाजुरा पठाउँछ तर बाजुराका नागरिकले नागरिकताका आधारमा पटक पटक सहुलियतको नुन लिएर जिल्लाबाहिर पठाउने गरेको र जिल्लामा नुन अभावको समाचार पटक पटक आउने गरेपछि नयाँ व्यवस्था गरिएको कार्यालय प्रमुख बोहराले बताए ।
सहुलियतको नुन वडा कार्यालयको सिफारिसले मात्र लिन पाउने व्यवस्थाले वितरणमा पारदर्शिता भए पनि सर्वसाधरणका लागि भने झन्झटिलो भएको बडीमालिका–७ का हरिचन्द्र पाध्यायले बताए । बाजुराको मार्तडी, कोल्टी, मौरै, कवाडी नुन डिपो र डोगडी, गौमुल, धुलाचौर र बेर्मा अस्थायी वितरण केन्द्रबाट सहुलियतको नुन वितरण भइरहेको छ ।
नेपाल सरकार जनस्वास्थ्य मन्त्रालयमार्फत सरकारद्वारा घोषित दुर्गम तथा पिछडिएका जिल्ला बाजुरा, अछाम, बझाङ, हुम्ला, मुगु, कालीकोट, डोल्पा, जुम्ला र जाजरकोटमा सहुलियतमा प्रतिकेजी नौ रुपियाँका दरले नुन बिक्री हुने गरेको छ । जब कि सोही प्रकारको नुन बजारमा किन्नु पर्दा २५ रुपियाँ पर्ने गर्छ ।











