हुम्लामा शुक्रबारदेखि हिमपात भएपछि सदरमुकाम सिमकोट बजार क्षेत्रको सडकमा हिउँले ढाकिएका सवारीसाधन । तस्बिर : दाने बोहरा / रासस

हुम्ला । शुक्रबार रातिदेखि हुम्लासहित कर्णालीका उच्च जिल्लामा हिमपात भइरहेको छ । शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो ।

शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ । हुम्लामा तेस्रो पटक हिमपात हुँदा किसानलाई राहत मिलेको स्थानीयले बताएका छन् । यतिबेला परेको हिउँले जेठासी बालीको उत्पादन राम्रो हुने हुम्लाका किसानको भनाइ छ ।

हिमपातका कारण सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा जनजीवन प्रभावित बनाएको छ । शनिबार बिहान हिमपात भइरहेकाले यहाँका स्थानीय चिसोले घर बाहिर निस्कन नसकेको बताइएको छ । हिमपात हुँदा यहाँको तापक्रम माइनसमा झरेको छ । हिमपातका कारण हवाई सेवा अवरुद्ध भएको छ भने यातायात सञ्चालनमा पनि केही समस्या भएको छ ।