काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले फेरि पक्राउ गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएका प्रसाईंलाई आज मंगलबार भक्तपुरको निवासबाट केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत् कसैले देखाएको कागजात सार्वजनिक गरेका थिए। प्रमाण भन्दै सार्वजनिक गरिएको स्क्रिनसट पत्यारिलो देखिन्न। त्यही अपत्यारिलो प्रमाण मंगलबार दिउँसोदेखि सामाजिक सञ्जालमा सेयर भइरहेको छ।

प्रधानमन्त्री ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको र त्यसैको ‘तथ्य प्रमाण’ भन्दै सेयर गरिएको उक्त स्क्रिनसटलाई केही सञ्चारमाध्यमले समाचारकै रूपमा प्रस्तुत गरेका छन्।

साइबर अपराध गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भोलि मात्रै अदालतमा लगिने भएको छ। यसअघि असोज ६ गते पक्राउ परेका प्रसाईं जिल्ला अदालत काठमाडौंले एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि असोज १५ गते छुटेका थिए।

प्रसाईंमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ४७ अनुसार अनुसन्धान हुने बताइएको छ । उक्त दफामा विद्युतीय स्वरूप गैरकानुनी कुरा प्रकाशन गर्नेसम्बन्धी प्रावधान उल्लेख छ। उक्त कसुरअनुसार एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने दफामा उल्लेख छ।