दाङ। सत्ता साझेदार दल कांग्रेसभित्रको आन्तरिकका कारण रोकिएको लुम्बिनी प्रदेशका आठ जना बिनाविभागीय मन्त्रीको जिम्मेवारी बाँडफाँट भएको छ ।

जसअनुसार कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा गुल्मीका धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानी मन्त्रीमा प्युठानका सरोज थापा, वन तथा वातावरणमा बाँकेका बादशाह कुर्मी, उद्योग, पर्यटन तथा यातायात मन्त्रीमा दाङका प्रचण्डविक्रम न्यौपाने, एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा रुपन्देहीका भूमिश्वर ढकाल, कृषि तथा भूमि व्यवस्था मन्त्रीमा गुल्मीका दिनेश पन्थी, स्वास्थ्य मन्त्रीमा पाल्पाका खेम सारु र ऊर्जा जलस्रोत र सिँचाइ मन्त्रीमा दाङकी सीता शर्मा चौधरीले जिम्मेवारी पाएको मन्त्री भूमिश्वर ढकालले जानकारी दिएका छन् । काग्रेसले भने एक मन्त्री नै पठाउन बाँकी छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री चेतनारायण आचार्य आफैँले राखेका छन् । १२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित पाँच, कांग्रेसले चार र दुई साना दललाई मन्त्रालय बाँडफाँड गरिएको थियो ।  मुख्यमन्त्रीसहित एमालेबाट पाँच र कांग्रेसबाट चार मन्त्रीले साउन ९ गते शपथ लिएका थिए ।