काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नतिर्ने थप उद्योगको लाइन काट्ने घोषणा गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक (सिइओ) कुलमान घिसिङले बिहीबार पत्रकार सम्मेलन नै गरेर तत्काल बक्यौता तिर्ने प्रक्रियामा नआए बाँकी उद्योगको पनि लाइन काट्ने घोषणा गरेका हुन् ।
लोडसेडिङ हुँदा उद्योग, अस्पताललगायतका दुई सय ३९ ग्राहकलाई ६५ प्रतिशत प्रिमियम शुल्कमा न्यूनतम २० घन्टा विद्युत् उपलब्ध गराइएको थियो । त्यसबापत ५९ उद्योगको २२ अर्ब २४ करोड ९ब्याज र जरिवानासहित० बक्यौता बाँकी रहेको प्राधिकरणको दाबी छ । बक्यौता तिर्न ६१ उद्योग बाँकी थिए । यसबीचमा पाल्पाको सीता फुड इन्डस्ट्रिजले महसुल तिरेको छ भने बुटवलको नारायण रबर उद्योगको बक्यौता विवाद अदालतमा विचाराधीन भएकाले प्राधिकरणले रकम खुलाएको छैन । उद्योगहरूले विद्युत् प्रयोग नै नगरेको भन्दै प्रमाण ल्याउन चुनौती दिइरहँदा घिसिङले भने प्रमाण रहेको दाबी गरेका छन् ।
बक्यौता नतिरेको भन्दै प्राधिकरणले गत शुक्रबारदेखि उद्योगको लाइन काट्न सुरु गरेको छ । हालसम्म जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, त्रिवेणी स्पिनिङ मिल्स, अशोक स्टिल, सोनापुर मिनिरल्स एन्ड आयल स्टोर, सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिल गरी नौ उद्योगको लाइन काटिएको छ । यी नौ उद्योगको मात्रै १२ अर्ब ५० करोड रुपैयाँ बक्यौता छ । अब बक्यौता नतिरेका अन्य ५२ उद्योगको पनि क्रमशः लाइन काट्दै जाने प्राधिकरणका सिइओ घिसिङले जानकारी दिए । पैसा नतिरेसम्म यसअघि लाइन काटिएका उद्योगको पनि बिजुली नजोड्ने उनले बताए । मन्त्रिपरिषद्बाट स्वीकृत सरकारी प्रतिवेदनको सिफारिस, अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त सुझाव, लेखा समितिको निर्देशन, महालेखाको प्रतिवेदनलगायतका आधारमा प्राधिकरणले यो कदम उठाएको उनको भनाइ छ । नयाँ पत्रिकाबाट











