हुम्ला । समयमै ढुवानी नहुँदा हिमाली जिल्ला हुम्लामा खाद्यान्न अभाव देखिएको छ । ढुवानीको जिम्मा पाएका सप्लायर्स कम्पनी र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको लापरबाहीका कारण यहाँ खाद्यान्न अभाव भएको हो ।
लिमिटेडको सिमकोट शाखामा दुई महिना यतादेखि खाद्यान्न अभाव हुँदै आएको छ । आर्थिक वर्ष २०८०र८१ मा हुम्लाका लागि १४ हजार क्विन्टल चामल स्वीकृत गरिए पनि हालसम्म ढुवानी हुन नसक्दा यहाँको गोदाम रित्तिएको छ ।
स्थलमार्गबाट चार हजार क्विन्टल र हवाई मार्गबाट १० हजार क्विन्टल ढुवानीका लागि सम्झौता भए पनि सप्लायर्सहरूले समयमै ढुवानी गर्न नसकेको बताइएको छ । स्थलमार्गबाट तीन हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको एलबी सप्लायर्सले अहिलेसम्म ढुवानी गरेको छैन ।
हालसम्म राष्ट्रिय सडक सञ्जालले छुन नसकेको हुम्लाको सदरमुकाम सिमकोट शाखामा पुग्नुपर्ने चामल सिम्रिक एयरले ढुवानी नगर्दा नेपागलञ्ज र सुर्खेतमै थन्किएका छन् । स्थलमार्गबाट तीन हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको एलबी सप्लायर्सका प्रोप्राइटर लोकेन्द्र भण्डारीले अहिलेसम्म ढुवानीमा चासो देखाएका छैनन् । स्थलमार्गबाटै एक हजार क्विन्टल चामल ढुवानी गर्नुपर्ने चाङला ढुवानी सेवाले पनि हालसम्म खाद्यान्न ढुवानी गरेको छैन ।











