बाँके । भेरी अस्पतालले गएको मध्यरातमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकालाई उपचारको व्यवस्थाको आवश्यक तयारी गरेको छ ।

भेरी अस्पताल, सैनिक असपताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ । कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ । पर्याप्त मात्रामा डाक्टर, नर्सिङ स्टाफ र लजिस्टिकको प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिएका छन् । हेलिकप्टरबाट ल्याइने बिरामीका लागि रांझा विमानस्थल र सेनाको हेलिप्याडमा २र२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाह, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंग रायमाझी, चिकित्सक, स्वास्थ्यकर्मी, नर्ससहितको टोलीले बिहान जाजरकोट र रुकुम पश्चिमबाट उपचारका लागि आउने बिरामीका लागि आवश्यक तयारी पूरा गरेका छन् ।

गए राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर छ दशमलव चार रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमका गरी १२८ बढीले ज्यान गुमाएका छन् भने सयभन्दा बढी घाइते भएका छन् ।