बझाङ । बझाङमा हिजो दिउँसो गएको भूकम्पका कारण खसेको पहिरोमा परी बेपत्ता एक महिलाको शव भेटिएको छ । टिमुर टिप्न गाउँनजिकैको जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी ४५ वर्षकी गुनदेवी धामीको शव भेटिएको हो ।

पहिरोमा च्यापिएको अवस्थामा रहेको शव निकाल्न जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको छ । भूकम्पबाट बझाङमा मात्रै १३ जना घाइते भएका छन् । भूकम्पले सदरमुकाम चैनपुरसहित आसपास गाउँका केही घर, विद्यालय र वडा कार्यालय गरी अहिलेसम्म एक सय ६० भन्दा धेरै भौतिक संरचनामा क्षति पुगेको छ । भूकम्पपछि गएको सुक्खा पहिरोका कारण अवरुद्ध जयपृथ्वी राजमार्ग अहिलेसम्म खुल्न सकेको छैन ।

बझाङमा भूकम्प जाँदा बैतडीलगायतका जिल्लामा स्थानीयहरु प्रभावित भएका छन् । पटक पटक परामम्पन्न आएपछि उनीहरुले खुला चौरमा रात बिताएका छन् । पटक–पटक परकम्प गइरहेकाले स्थानीयबासिन्दा रातिदेखि घरबाहिरै खुला चौरमा बसेका हुन् । केही घरमा क्षति भएको र फेरि भूकम्प आउन सक्ने डरका कारण उनीहरु घरबाहिर बसेका छन् ।