काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाण्डौले नक्कली सरकारी कार्यालय खोलेर नक्कली कर्मचारी बनेर ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

कृषि मन्त्रालयअन्तर्गतको ‘खाद्य सुरक्षा कार्यक्रम’ को नक्कली कार्यालय खोलेर ठगेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकको मेलम्चीका घनश्याम कटुवाल र मकवानपुरको बाग्मती गाउँपालिकाका लीला भोलोनलाई पक्राउ गरेको हो ।

उनीहरूले काठमाण्डौको नारायणस्थानमा दुई तले पक्की घर भाडामा लिएर नक्कली सरकारी कार्यालय खोली नक्कली शाखा अधिकृतदेखि उपसचिवसम्मको ‘नेमप्लेट’ राखेका थिए । ‘नेमप्लेट’ मा घनश्यामले उपसचिव जयराम केसी लेखेका थिए । उनीहरूले १५ लाख रुपैयाँभन्दा धेरै ठगी गरेका प्रहरीले जनाएको छ ।

उनीहरूलाई परिसर र प्रहरी वृत्त महाराजगन्जको टोलीले आइतबार भक्तपुरबाट पक्राउ गरेको एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन् । यो ठगी प्रकरणका तीन जना अझै फरार छन्। मकवानपुरका भीम भ्लोन, मिलन तामाङ र पेम्बा तामाङलाई प्रहरीले खोजिरहेको छ।