दाङ । आषाढ शुक्ल पूर्णिमा । ज्ञान दिने गुरुको सम्मान गर्ने दिन गुरुपूर्णिमा। आज सोमबार ३० घडी २७ पला अर्थात ५ बजेर २५ मिनेटसम्म पूर्णिमा तिथि छ।

गुरुदेवो भव भनेर सनातन संस्कृतिमा गुरुलाई देवताकै स्थान दिइन्छ । ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन वैदिक धर्मको मान्यता छ।

मनुस्मृतिअनुसार जन्म दिने, संस्कार दिने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ। गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदैछ ।