काठमाडौं : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी) ले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म संघ वा प्रदेश कुनै पनि सरकारमा सहभागी नहुने अडान दोहोर्‍याएकी छन् ।

शनिबार बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले रेशम चौधरीलगायत टीकापुर घटनाका बन्दीलाई रिहाई नगरेसम्म संघ र प्रदेश सरकारमा आफ्नो पार्टी सहभागी नहुने अडान कायमै रहेको बताएकी हुन् ।

आफ्नो पार्टीको माग र मुद्दा सम्बोधन नभएसम्म सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने पक्षमा समेत आफ्नो पार्टी नरहेको उनको भनाइ छ ।

अध्यक्ष श्रेष्ठले टिकापुर घटनामा निर्दोष रहेका आफ्ना पार्टीका नेता, कार्यकर्ताहरुलाई जेलमुक्त गर्ने काममा ढिलाई नगर्न पनि सरकारलाई आग्रह गरिन् ।