दाङ, १७ पुस । लुम्बिनी प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । लुम्बिनीको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरीं) दाङस्थित प्रदेशसभा भवनमा उनीहरुले शपथ लिएका हुन् ।

नवनिर्वाचति सदस्यहरुलाई लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ खुवाएका थिए । प्रदेशसभा नियमावली २०७९ को ४ को अनुसूची १ मा उल्लेख भएको ढाँचा अनुसार सबै सदस्यलाई प्रदेश प्रमुख शेरचनले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्।

लुम्बिनी प्रदेशमा प्रत्यक्षका ५२ र समानुपातिकका ३५ गरी ८७ सदस्य छन्। लुम्बिनीमा पहिलो दल बनेको एमालेबाट २९ सांसद छन् भने दोस्रो ठूलो दल नेपाली कांग्रेसका २७ सांसद छन्। माओवादी केन्द्रका ९, जनता समाजवादी पार्टीका ३, राप्रपा ४, नागरिक उन्मुक्तिका ४ र जनमत पार्टीका ३ तथा स्वतन्त्र ३ जना सांसद छन्। यस प्रदेशमा नेकपा एकीकृत समाजवादी र जनमोर्चासँग समानुपातिक तर्फका एक/एक सांसद छन्।

पहिलो अधिवेशन भोली
आज आइतबार प्रदेशसभा सदस्यहरुको सपथग्रहण भएसँगै लुम्बिनी प्रदेशसभाको अधिवेशन पुस १८ गते सोमबार हुँदैछ ।

संविधानको धारा १८३ को उपधारा १ बमोजिम सोमबार दिउँसो १ बजे प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन आह्वान गरेका हुन् । पहिलो प्रदेशसभा अधिवेशनको अध्यक्षता जेष्ठ सदस्य गुल्मीबाट निर्वाचित डिल्लीराज भुसालले गर्ने छन्।