माओवादीभित्र अवसरको सवालमा सबैभन्दा ठूलो प्रश्न उठ्ने गर्छ परिवारवाद । कतिपय नेता कार्यकर्ताको सवाल हेर्दा यो गलत पनि होइन तर केही यस्ता नेता कार्यकर्ता छन्, जो परिवारका सदस्य उच्च पदमा भएकै कारण पछि परेका छन् । तीमध्ये एक हुन– नारायणी शर्मा ‘प्रतिक्षा’ ।

नाारायणी शर्मा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्माकी कान्छी बहिनी हुन् । तर, आफ्नो राजनीतिक योगदान हुँदाहुँदै पनि नाताको आरोप लाग्ने खतराले निरन्तर ओझेलमा पर्दै आएकी पात्र पनि यिनै हुन् ।
२०३२ फागुन १८ गते जन्मेकी शर्मा २०४७ सालदेखि पार्टीमा जोडिएकी हुन् । नाचगानमा चासो राख्ने शर्माले पूर्ण घर्तीको नेतृत्वमा रहेको सांस्कृतिक परिवार रुकुममा रहेर २०५१ सालसम्म काम गरिन

कक्षा ९ मै पढ्दै गर्दा १४ बर्षको उमेरमा शर्मा माओवादी आन्दोलनमा होमिएकी थिइन् । शारीरिकरुपमा तन्दुरुस्त अनि वैचारिकरुपमा स्पष्ट हुँदै गएकी नारायणीलाई कलाकारभन्दा फरक भूमिकामा आवश्यक भन्दै पार्टीले अफर गर्यो । पार्टीकै अफरमा उनी वाइसिएल इकाइ, एरियाहुँदै जिल्ला समितिमा पुगिन् । त्यही वाइसिएल रुकुमको जिल्ला समिति नै अन्नतः माओवादी रुकुमको लडाकू दलमा बदलियो ।

२०५२ साल फागुन १ गते जनयुद्ध सुरु हुँदा नेपालका तीन ठाउँमा आक्रमण गर्ने केन्द्रीय योजना बन्यो । रुकुमको आठबीसकोट राडी प्रहरी चौकी, रोल्पाको होलेरी र सिन्लुधीको सिन्धुलीगढी आक्रमण गर्ने योजनाअनुसार रुकुमको लडाकू दलले पायो आठबीसकोट राडी प्रहरी चौकी आक्रमणको जिम्मा । त्यसमा अन्य पुरुष लडाकूको अलावा खटिए तीन महिला लडाकू– कमला रोका, नारायणी शर्मा र लालकुमारी झाँक्री (आँधी) ।

जनयुद्धको पहिलो कारवाही सफल भएपछि उत्साहित भएकी शर्मा २०५५ मा नेपालकै पहिलो स्क्वायड कमाण्डर भइन । सल्यानको बाफूखोलामा नेपालभरिका छापामारका लागि गरिएको प्राबिधिक प्रशिक्षणमा एक मात्र महिला सहभागी थिइन शर्मा ।

निरन्तर माओवादी आन्दोलनमा पूर्णकालीन नेताको रुपमा क्रियाशील शर्मा पालुङटार अधिवेशनदेखि माओवादी केन्द्रको नेतृत्वमा रहेकी छन् ।अहिले पनि माओवादीको केन्द्रीय नेतृत्वमा रहेकी शर्मालाई पार्टीले जनयुद्धको लिगेसीको रुपमा स्थापित गर्छ वा जनार्दन शर्माको बहिनीको रुपमा बिस्थापित गर्छ,  देखिने नै छ । यो सामग्री सिस्ने अनलाइन बाट लेएको हो !!