{"caption":"u0915u093eu0920u092eu093eu0921u094cu0902u0915u094b u0938u0941u0928u094du0926u0930u0940u091cu0932u0938u094du0925u093fu0924 u092au094du0930u0936u094bu0927u0928 u0915u0947u0928u094du0926u094du0930u092eu093e u092cu093fu0939u0940u092cu093eu0930 u091du0930u093fu0930u0939u0947u0915u094b u092eu0947u0932u092eu094du091au0940u0915u094b u092au093eu0928u0940u00a0u0964 u0924u0938u094du092cu0940u0930 : u092eu0947u0932u092eu094du091au0940 u0916u093eu0928u0947u092au093eu0928u0940 u0906u092fu094bu091cu0928u093e","photographer":"","alt_text":""}

काठमाडौँ । मेलम्ची आयोजनाले उपत्यकाको काठमाडौँ, भक्तपुर र कीर्तिपुरका मुख्य सहरमा पानी वितरण गर्ने भएको छ । सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथान मुहानमा गत जेठमा बन्द गरिएको सुरुङको मुखबाट ११ दिनअघि मेलम्ची खोलाको पानी प्रवेश गराइएको थियो । बाढीले मुहान क्षति गर्ने सम्भावनाका कारण सुरुङको मुख बन्द गरिएको थियो ।

मेलम्ची आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार गत १८ गते काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा झरेको पानी वितरण गर्न लागिएको हो । प्रशोधित पानी बिहीबार बेलुकी महाङ्कालस्थित रिजर्भ ट्याङ्कीमा पठाउने योजना रहेको छ ।

शुक्रबार बिहान पानी औपचारिक घर-घरको धारहरूमा पठाइनेछ । पानी सबै स्थानमा भने एकै पटक पठाइने छैन । सुन्दरीजलमा प्रशोधित पानी दुई करोड १० लाख लिटर स्टोर गर्ने क्षमता रहेको छ ।

यसको व्यवस्थापन भने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले गर्नेछ । उपत्यकाको आरुवारी, जगडोल, बासबारी, बालाजु, पानीपोखरी, कीर्तिपुर र भक्तपुरको कटुन्जेलगायतका स्थानमा पानीको रिजर्भ गरेर वितरण गर्ने संरचना रहेको छ ।

शुक्रबार बिहान खानेपानी मन्त्री उमाकान्त चौधरीको उपस्थितिमा पानी वितरण सुरु गर्ने जानकारी कार्यकारी निर्देशक श्रेष्ठले दिए । २०७८ असारको बाढीले क्षतविक्षत भएको मेलम्चीको हेडवर्क्सलाई अस्थायी रूपमा व्यवस्थापन गरेर पानी ल्याइएको हो । हेडवर्क्सलाई स्थायी संरचनाको रूपमा कसरी निर्माण गर्ने योजना बनिसकेको छैन ।

हाल मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ ल्याउने तयारी छ । यसपछि दोस्रो फेजमा सिन्धुपाल्चोककै याङ्ग्री र लोर्के खोलाबाट १७/१७ करोड लिटर पानी राजधानी ल्याउने योजना रहेको छ ।