काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले युवाको आक्रोशलाई राजनीतिक दलले सम्बोधन गर्नुपर्ने बताएका छन् । लोकतान्त्रिक वाम गठबन्धन काठमाडौँ क्षेत्र नं ५ ले बिहिबार यहाँ आयोजना गरेको ‘बृहत् आमसभा’लाई सम्बोधन गर्दै उनले राजनीतिक दलप्रति युवा पङ्क्तिमा आक्रोश देखिएकाले यसलाई राजनीतिक दलले सम्बोधन गर्नुपर्ने बताएका हुन् ।
‘संविधान निर्माणपछि युवामा धेरै आकाङ्क्षा थियो, त्यो आकाङ्क्षालाई राजनीतिक दलले पूरा गर्न सकेनन्, अहिले युवामा आक्रोश देखिएको छ’, उनले भने । पूर्वप्रधानमन्त्री डा भट्टराईले गठबन्धनले बेरोजगारको अन्त्य गर्दै देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्ने बताए ।कांग्रेस नेता एवं पूर्वकानूनमन्त्री नरहरि आचार्यले देशको विभिन्न आन्दोलनको नेतृत्व गरेको कांग्रेस नेतृत्वको गठबन्धनले मात्र देशको विकास गर्नसक्ने बताए ।
‘निर्वाचनमा कुनै पनि राजनीतिक दललाई मतदान गर्नुमात्र ठूलो कुरा होइन, उक्त मतको संरक्षण गर्न चनाखो हुनुपर्छ’, उनेले भने । पूर्वमन्त्री आचार्यले कांग्रेसले सबै राजनीतिक दललाई समन्वय गर्दै अगाडी बढ्ने हैसियत राखेको बताए।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य कल्पना शर्मा , नेकपा (एकीकृत समाजवादी)का नेता एवम् निर्वाचन परिचालन समितिका संयोजक दिपक केसीलगायतले संविधानको रक्षा र मुलुकको विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजय गराउन आग्रह गरेका थिए ।











