नेकपा माओवादी केन्द्रबाट काठमाडौं क्षेत्र नम्बर २ की उम्मेदवार ओनसरी घर्तीले आफ्नो बाँकी जिन्दगी यहीँका जनताको सेवामा बिताउने योजना बनाएको बताएकी छन्। काठमाडौंको जडीबुटीमा बिहीबार आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

मलाई जिताएर पठाउनुस्, म बाँकी जिन्दगीभर तपाईंहरुको सेवा गर्छु’, उनले भनिन्, ‘संविधान च्यात्ने केपी ओली कम्पनीका एजेन्टलाई २ नम्बरका जनताले मतदाताको ठेक्का लिएका छैनन्। म जे बोल्छु त्यो गर्छु जे गर्छु त्यो बोल्छु।

उनले आफू रोल्पामा जन्मिएको छोरी भन्दै काठमाडौं २ बासीको घर दैलोमा आएको बताइन्।
‘यो यात्रा सबैका लागि हो। कोटेश्वरमा उभिएर अहिले मत मागिरहेको छु’, उनले भनिन्, ‘मैले गरेको यात्रा मुक्तिको थियो। कर्मथलो दुई नम्बर क्षेत्रलाई बनाउँदा रात्रि बस चढेर कलंकीमा उत्रिएको होइन, प्याराग्लाइडिङबाट झरेको होइन। संघर्ष गरेर नै यहाँ आएकी हुँ।’

उनले आफू सभामुख हुँदा नैतिकता र इमान्दारिता नगुमाए बताउँदै यहाँबाट जिते जनताको सेवामा लागिरहने उल्लेख गरिन्।

‘बाँकी जिन्दगी म २ नम्बर क्षेत्रका जनताको सेवामा व्यतित गर्न चाहन्छु’, उनले भनिन्, ‘त्यसैले मैले मेरो संघर्ष भुलेकी छैन। म जनताको सेवामा लागिरहनेछु।’











