रुपन्देही । सत्तारुढ गठबन्धन दलको आयोजनामा शुक्रबार बुटवलमा हुने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुन सबै दलका शीर्ष नेताहरु आउने भएका छन् ।

प्रशिक्षण कार्यक्रममा  प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष  माधवकुमार नेपाल, गृहमन्त्री बालकृष्ण खाड, जनमोर्चा तथा लोसपाका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।कांग्रेस लुम्बिनी सभापति अमरसिहं पुनका अनुसार दिउसो २ बजेदेखि योगिकुटिस्थित होटल पौवामा हुने कार्यक्रमको सबै तयारी पूरा भएको र शीर्ष नेताहरु आउने निश्चित भएको छ ।

प्रशिक्षणमा सबै पार्टीका प्रदेशमा उपलब्ध नेताहरु, प्रदेशस्तरीय नेताकार्यकर्ताहरु तथा उम्मेदारहरुको सहभागीता रहने भएको छ । सबै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण संचालन गर्ने गठबन्धन दलको केन्द्रमा भएको निर्णयअनुसार लुम्बिनीको कार्यक्रम बुटवलमा तयारी गरिएको नेता पुनले बताए ।

शीर्ष नेताहरुले शुक्रबार दिउँसोसम्म पोखरामा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण सकेर हेलिकोप्टरमार्फत बुटवल आउने कार्यक्रम रहेको छ ।