इन्द्रेणी संवाददाता
दाङ, १९ भदौ । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका महासचिव शंकर पोख्रेलको नाम दाङ क्षेत्र नं. २ बाट सिफारिस गरिएको छ ।
२०७४ सालको निर्वाचनमा प्रदेश सभामा निर्वाचित भएर लुम्बिनी प्रदेशको मुख्यमन्त्री भइसकेको महासचिव पोखरेलको नाम सिफारिस गरिएको जिल्ला सचिव मनोहर बुढाथोकीले बताएका छन् ।
त्यस्तै एमालेले दाङले निर्वाचन क्षेत्र नं. ३ बाट तीन जनाको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ। एमाले उपाध्यक्ष युवराज ज्ञवालीको नाम एक नम्बरमा सिफारिस गरिएको छ भने केन्द्रीय सदस्य घनश्याम पाण्डे र केन्द्रीय सदस्य कोमल वलीको पनि नाम सिफारिस गरिएको छ ।
त्यस्तै निर्वाचन क्षेत्र नं. १ मा पनि प्रतिनिधिसभा सदस्य पदका लागि तीन जनाको नाम सिफारिस भएको छ। एक नम्बरमा शान्ता चौधरीको नाम सिफारिस गरिएको छ भने गंगा चौधरी र रेवतीरमण शर्माको पनि नाम सिफारिस गरिएको छ।
महासचिव पोखरेल उम्मेदवार बनेको क्षेत्रबाट यसअघि नै प्रदेश सभा २ (क) मा बलिभद्रा रानाको नाम एमालेले एकल रूपमा सिफारिस गरिसकेको छ। निर्वाचन क्षेत्र नं. २ (ख) र निर्वाचन क्षेत्र नं. ३ (क) मा नाम सिफारिस गर्नेमा छलफल भइरहेको नेकपा एमाले दाङ ले जनाएको छ ।











