काठमाडौँ, १९ भदौ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै कामचलाउ हैसियतमा रहेको सरकारले संसद्को कार्यकाल लम्ब्याउन कानुन संशोधन गर्न लागेको छ । शुक्रबार राति प्रतिनिधिसभामा दर्ता भएको विधेयक पारित भएमा मंसिर ४ को निर्वाचनपछि पनि अहिलेकै संसद् बहाल रहनेछ ।

नवनिर्वाचित संसद्को पहिलो बैठक नबसेसम्म यही प्रतिनिधिसभा कायम रहने, सुविधा लिने तथा राजनीतिक दाउपेचमा राज्यको ढुकुटी खर्च गर्ने उद्देश्यले विधेयक ल्याइएकामा संविधानविद्हरूले आपत्ति व्यक्त गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य छान्न मंसिर ४ मा हुने निर्वाचनका कार्यक्रमसमेत सुरु भइसकेको अवस्थामा सरकारले संसद्को कार्यकाल लम्ब्याउन लागेको हो । असोज २ र ३ मा राजनीतिक दलहरूले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने तालिका छ । नयाँ निर्वाचनका लागि उम्मेदवारी दर्ता हुने भएकाले त्यही दिनदेखि नै संसद्को कार्यकाल सकिने घोषणा निर्वाचन आयोगले समेत गरिसकेको छ । कान्तिपुरबाट