काठमाडौं, २४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका राजनीतिक दलहरुसँग एक-अर्कासँग सहकार्य गर्ने संस्कार भएको बताएका छन् ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले एक–अर्कामा हातेमालो र सहकार्य गर्ने संस्कार भएको बताएका हुन् । यो संस्कारको आवश्यकता रहेको भन्दै उनले एक्लै हिँड्ने अहङ्कार नगर्न पनि शीर्ष दलका नेताहरूलाई आग्रह गरे । ‘कहिलेकाहीँ म सुन्छु, साथीहरु एक्लै हिँड्ने कुरा गर्नुहुन्छ,’ उनले अघि भने, ‘हामी एक्लै हिँड्ने अहंकार कसैले पनि नगरौं । हामी मिलेरै हिँड्ने हो ।’
२०४६ सालको जनआन्दोलन, वृहत् शान्ति सम्झौता र २०६२/०६३ को जनआन्दोलनबाट प्राप्त सफलता एकताको परिणाम भएको भन्दै अध्यक्ष दाहालले एक्लै हिँड्ने अहङ्कार गर्दा ओरालो यात्रा सुरु हुने घटनाक्रमले देखाइसकेको बताए ।
देशमा राजनीतिक परिर्वतन निरन्तर हुँदै आएको र यो परिवर्तनलाई संस्थागत गर्न पनि कांग्रेस, माओवादीलगायतका दलबीच एकता आवश्यक रहेको पनि उनको भनाइ थियो ।











