काठमाडौँ, ३ भदौ । प्रस्तावित एमाले (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई नै विसर्जनतर्फ धकेलेकाले एमाले पुनर्गठन र रुपान्तरणका लागि विद्रोह गरी एमाले (समाजवादी) पार्टी गठन गरेको औपचारिक घोषणा गरेका छन् ।
पार्टीका तर्फबाट साँझ अपिल जारी गर्दै उनले नयाँ पार्टी गठनको स्पष्टीकरण दिएका छन् । उनले नयाँ उत्साह र संकल्प साथ अघि बढ्न र त्यो काममा सहयोग पुर्याउन सबैसँग आग्रह गरेका छन् ।
‘नेकपा (एमाले) लाई नयाँ ढंगले पुनर्गठित र रूपान्तरित गर्ने अभियान चलाउनु आवश्यक छ । नेकपा (एमाले) पुनर्गठन र रूपान्तरणको यस महाअभियानको क्रममा हामीले नेकपा (एमाले) बाट वैधानिक रूपमा विद्रोह गरी नेकपा एमाले (समाजवादी) नामको नयाँ पार्टी गठन गर्दै अगाडि बढेका छौँ,’ अध्यक्ष नेपालद्वारा जारी अपीलमा छ, ‘कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक र राष्ट्रियताको यस महाअभियानलाई सशक्त र प्रभावकारी रूपमा नयाँ उत्साह र संकल्पका साथ अघि बढाउन आ–आफ्नो ठाँउमा खट्नुहुन र सहयोग पुर्याउनुहुन सबैमा हार्दिक अपील गर्दछौं ।’ उनले राष्ट्र र जनताप्रतिको कर्तव्य पालनाबाट विमुख हुन नसक्ने उल्लेख गरेका छन् ।
‘नेपाली कम्युनिस्ट आन्दोलनले स्थापित गरेका देश र जनताप्रतिको सेवाभाव, राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानप्रतिको दृढ अडान, स्वच्छ संस्कार र क्रान्तिकारी अडान तथा समाजवादी ध्येयप्रतिको अटल विश्वासजस्ता असल मान्यतामा अडिइरहन चाहन्छौं,’ उनले भनेका छन्, ‘नेकपा ९एमाले० ले स्थापित गरेको विचारको विविधतालाई आत्मसात् गर्ने दृष्टिकोण, विधि र पद्धतिमा चल्ने कार्यप्रणाली तथा जनपक्षीय आचरणलाई बचाइराख्न चाहन्छौं ।’ कान्तिपरबाट











