काठमाडौँ, १७ साउन । भुटानले कोरोनाविरुद्धको ३ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने भएको छ । भुटानले लक्षित समूहलाई खोप लगाइसकेपछि नेपाललाई अस्ट्राजेनेकाको खोप सहयोग गर्ने भएको हो ।
‘भुटानबाट खोप छिट्टै ल्याउने तयारी भइरहेको छ,’ सरकारका एक उच्च अधिकारीले भने, ‘त्यसका लागि परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक माध्यममार्फत सरकारीस्तरमा पहल भइरहेको छ ।’ नयाँ दिल्लीस्थित नेपाली दूतावासले पनि भुटान सरकारसँग संवाद अघि बढाएको उनले बताए ।
७ लाख ८० हजार जनसंख्या रहेको भुटानमा अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत ५ लाख मोडर्ना, ५ हजार ८ सय ५० फाइजर, २ लाख ५० हजार अस्ट्राजेनेका, क्रोएसिया, बुल्गेरिया र अन्य केही मुलुकबाट अस्ट्राजेनेकाकै एक लाख, कोभ्याक्स सुविधाअन्तर्गत सिनोफार्मको ५० हजार डोज भित्रिएको थियो कान्तिपुरमा खबर छ। आफ्ना मुलुकका नागरिकलाई खोप लगाइसकेपछि उब्रिएको करिब ३ लाख डोज नेपाललाई सहयोग गर्न भुटानले चाहेको सरकारी अधिकारीको भनाइ छ ।











