काठमाडौं, ३० असार । सरकारले कोरोना भाइरसविरुद्धको खोप किन्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ५ अर्ब रुपैयाँको सहमति प्रदान गरेको छ ।
नवनियुक्त अर्थ मन्त्री जनार्दन शर्माले पदबहालीपछि कोरोनाविरुद्धको खोप किन्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पाँच अर्ब रुपैयाँको सहमति दिनेसम्बन्धी निर्णय गरेका हुन् ।
सरकारले आउँदो असोज मसान्तसम्म एक तिहाइ र चैत मसान्तसम्म खोप लगाउने उमेर समूहका सबै नागरिकलाई खोप दिने लक्ष्य लिएको छ । खोपको पर्याप्त आपूर्ति हुन नसक्दा नेपालमा खोप अभियान प्रभावित भएको छ ।
मङ्गलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले महामारीको समयमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीलगायतले पाउनुपर्ने जोखिम भत्ता एक हप्ताभित्र उपलब्ध गराउन सुरु गर्ने निर्णय गरेको थियो ।











