इन्द्रेणी संवाददाता
दाङ, २१ बैशाख । नेपाल पत्रकार महासंघ दाङको भवनमा पत्रकारहरुका लागि आइसोलेशन स्थापना गरिएको छ । कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा अस्पतालमा शैय्या पाउन कठिन भइरहेकोले पत्रकारलाई सहज रुपमा उपचार गर्ने वातावरण मिलाउन महासंघमा अक्सिजनसहित ६ बेडको आइसोलेशन स्थापना गरिएको हो ।
आईसोलेशन व्यवस्थापनकालागी शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षमा आज मंगलवार बसेको वैठकले नेपाल पत्रकार महासंघ दाङ शाखाको भवनमा कोरोना संक्रमित पत्रकारका लागि स्थापना भएको आइसोलेसन व्यवस्थापनकालागी महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी संयोजक, कार्यसमिति, सल्लाकार, पूर्व अध्यक्ष एव सञ्चार संघसंगठनका प्रमुख रहेको मूल समिति गठन गरेको छ ।
त्यसैगरी उपाध्याक्ष बसुन्धरा गोतम संयोजक, कार्यसमिति सदस्य कुलदिप न्यौपाने र सदस्य राधा पौडेल सदस्य रहेको स्वास्थ्य व्यवस्थापन समिति र उपाध्यक्ष सन्तोष सुवेदी संयोजक, सचिव आरके शीतल, निवर्तमान सचिव भुपेन्द्र वली, कार्यसमिति सदस्यहरु उदय विसी र गिरिराज नेपाली सदस्य रहेको आईसोलेशन कक्ष व्यवस्थापन समिति गठन गरिएको छ ।
कोरोना महामारीमा खट्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगाएतका फ्रन्टलाइनरहरुका लागि पनि आइसोलेसन अभाव हुनसक्ने कुरालाई मध्यनजर गर्दै आवश्यक परेमा आईसोलेशन सञ्चालनका लागि महासंघको भवन उपलब्ध गराउन सकिने निर्णय गरेको छ ।
बैठकले नेपाल पत्रकार महासंघ दाङ शाखाले पत्रकार राहत सहायता कोष स्थापना गर्ने निर्णय गरेको छ । जसका लागि नेपाल पत्रकार महासंघ दाङ शाखाको नाममा नेपाल बैंक लि। घोराही शाखामा रहेको खाता ननं. ०२७०१०००२६८४९७०००००१ मा आर्थिक सहायताका लागि सम्पूर्ण सहयोगी निकाय एवं व्यक्तीहरुलाई अपील गर्ने निर्णय गरेको छ ।











