काठमाडौं, २ माघ । नेकपाका दुवै समूहले सत्ता साझेदारीसहित सहकार्यको ‘अफर’ गरे पनि तत्काललाई कांग्रेस तटस्थ बस्ने भएको छ । कांग्रेसले सहकार्यका लागि पहिला नेकपा विभाजनको आधिकारिता खोजेको छ । संसद् विघटनसँगै प्राविधिक रूपमा विभाजित नेकपाको वैधानिकताको कानुनी लडाइँ निर्वाचन आयोग पुगेको छ ।
नेकपाको ओली र प्रचण्ड–नेपाल दुवै समूहले सहकार्यको प्रस्ताव ल्याए पनि कांग्रेस सभापति शेरबहादुर देउवा भने फुटको आधिकारिकता नभइन्जेल औपचारिक रूपमा कसैसँग पनि सहकार्यको निर्णय नलिने तयारीमा छन् । संसद् विघटनपछि प्रचण्ड–नेपाल समूहले सडकसंघर्षमा सहकार्यको प्रस्ताव गरे पनि कांग्रेसले एकल आन्दोलन गरेको छ ।
संसद् विघटनपछि सम्भावित समीकरणलाई लिएर नेकपाको प्रचण्ड–नेपाल समूहसँग देउवाले बुधबार पहिलो भेटवार्ता गरे । छलफलमा प्रचण्ड–नेपाल समूहले संसद् विघटनविरुद्ध संयुक्त संघर्षदेखि देउवा नै प्रधानमन्त्री बन्ने गरी सत्ता–सहकार्यसम्मको प्रस्ताव गरेका थिए ।
बुधबार साँझ ५ बजे देउवा निवास पुगेका नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संसद् पुनस्र्थापना हुँदा र नहुँदा आइपर्ने जुनसुकै परिस्थितिमा पनि कांग्रेससँग सहकार्यको प्रस्ताव गरेका थिए । करिब दुई घन्टासम्मको संवादमा प्रचण्ड–नेपालले संसद् विघटनविरुद्ध संयुक्त संघर्षदेखि देउवा नै प्रधानमन्त्री बन्ने गरी सत्ता–सहकार्यसम्मको प्रस्ताव गरेका थिए ।
यसबाहेक प्रचण्डले देउवालाई चुनावमा जोड दिनुको कारण सोधेका थिए । जवाफमा देउवाले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर असंवैधानिक काम गरेको भए पनि चुनावमा जानु लोकतान्त्रिक विधि भएको बताएका थिए । भेटमा प्रचण्डले कांग्रेसले पनि प्रतिनिधिसभा पुनस्र्थापनाको एजेन्डा बनाउन आग्रह गरेको कांग्रेस नेता रमेश लेखकले बताए । नेता लेखकका अनुसार सर्वोच्च अदालत र निर्वाचन आयोगको निर्णय आएर स्पष्ट नभइन्जेल कांग्रेसले नेकपासँग सहकार्य गर्दैन । नयाँ पत्रिकाबाट











