काठमाडौं, ७ असोज । मंगलबार मध्यरात, झमझम पानी परिरहेको छ । पानीले भिजेको चिसो भुइँमा कागज, कार्टुन र रुमाललाई बिछ्यौना बनाएर निदाउने प्रयास गरिरहेका छन् । बेन्च र टेबलमा पनि निदाइरहेका छन्, निदाउने प्रयास गरिरहेका छन् । यिनीहरू रोजगारी माग्न जम्मा भएका होइनन्, उपचारका लागि पनि आएका होइनन् ।

pcrकोभिड परीक्षण गरिपाऊँ– उनीहरूको यत्ति माग हो । तर, दिनभर लाइन लाग्दा पनि पालो नआएपछि उनीहरू रातिदेखि नै यसरी लाइन लाग्न बाध्य भएका हुन् । के गर्नु रु यो देशमा महामारीविरुद्ध सरकारको बन्दोबस्त यस्तै छ ।

यो दृश्य हो राजधानीको टेकुस्थित कोभिड– डेडिकेटेड शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको । अस्पतालको गेटबाहिरको अवस्था पनि यस्तै छ । सडक किनारमा उभिएका, बसेका सबैसँग छाता छैन । छाता हुनेहरू छातामा ओत लागेका छन् । छाता नहुनेहरू बाटोछेउका घरका सिँढीमा ओत लाग्ने प्रयास गरिरहेका छन् । उभिएर थाकेकाहरू भिजेको भुइँमै पल्टिएका छन् ।

महोत्तरी गौशालाका रामबाबु साह सोमबार साँझ काठमाडौं आइपुगे । सरासर लगनखेलस्थित आफ्नो कोठामा जान खोजेका साहलाई घरबेटीले गेटमै रोके । पिसिआर जाँच गरेको रिपोर्ट देखाएपछि मात्र घरभित्र छिराउने निर्देशन दिए ।

आँगनमै झोला छाडेर साह पिसिआर जाँच गराउन टेकु आइपुगे । उनी सोमबार साँझ अस्पताल आएका हुन् । मंगलबार रातिसम्म पालो पाएका छैनन् । बुधबार त परीक्षण होला कि भनेर उनी अस्पताल गेटबाहिर चिसो सिँढीमा ओत लाग्ने प्रयास गरिरहेका छन् । महात्तरीमा शाहको आठजनाको परिवार छ, कमाउने उनी मात्रै हुन् । निर्माण मजदुरको काम गर्ने साह भन्छन्, ‘पेटका लागि जस्तो पनि सहनै प¥यो ।’

सोमबार बिहानैदेखि पिसिआर जाँचको पालो पर्खेर बसिरहेका वीरगन्जका अबुराहन आलमले त खाना पनि खाएका छैनन् । अस्पतालको आँगनमा कागज ओछ्याएर निदाउने प्रयास गरिरहेका आलमलाई घरबेटी मात्र होइन, टोलकै मानिसले घरभित्र छिर्न दिएनन् ।
‘घरबेटी र टोलका मान्छेले भित्र पस्न दिएनन् । परीक्षणका लागि यता आएको पनि दुई दिन भइसक्यो, खाना पनि खान पाएको छैन,’ आलमले सुनाए । गौशालामा सवारीसाधन मर्मतको काम गर्ने आलम गुह्येश्वरीमा बस्छन् । संक्रमण छैन भन्ने रिपोर्ट लग्न पाए रोजीरोटी मिल्थ्यो भन्ने उनको आशा छ । तर, यो भिडमा उनको नियति के हुने हो रु थाहा छैन ।

दुई दिनदेखि निद्रा र भोकले रन्थनिएका आलमका आँखा सुन्निएका छन् । उनी राम्रोसँग बोल्नसमेत सकिरहेका छैनन् । दिनभरि लाइनमा उभिनुपर्ने, राति चिसो भुइँमा पल्टिनुपर्दा टाउको दुख्न थालेको सुनाउँछन् उनी ।

यो हो पूजादेवीको नौजनाको परिवार, उनीहरू अस्पतालभित्रै रहेको एटिएम बुथमा निदाउने प्रयास गरिरहेका छन् । मंगलबार बिहान मात्र वीरगन्जबाट काठमाडौं आएकी पूजादेवीलाई आफ्नोभन्दा बालबच्चाको चिन्ता लागेको छ । तीनजना बच्चा चिसोमै निदाएका छन्, तर पूजादेवी उनीहरूको रेखदेख गर्दै जागा छिन् । नयाँ पत्रिकाबाट