काठमाडौं, ५ भदौ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जारी गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन उपत्यकाका सडकमा करिब ५ हजार सुरक्षाकर्मी खटाइएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्लामा गरी निषेधाज्ञामा कडाइ गर्न भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीका करिब ५ हजार सुरक्षाकर्मी खटाइएको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी एवं प्रवक्ता सुशीलकुमार यादवले नियमित ड्युटीबाहेक उपत्यकाका सडकमा नेपाल प्रहरी तर्फबाट मात्रै ३ हजार ३ सय सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । यसैगरी, सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार तीनै जिल्लामा गरी सशस्त्र प्रहरीका १ हजार ५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ
२९ सय सवारी साधन होल्ड
ट्राफिक प्रहरीले निषेधाज्ञा उल्लंघन गर्दै चलाइएका २ हजार ९ सय २ सवारी साधनलाई बिहीबार सडकमै होल्ड गराएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी बामदेव गौतमका अनुसार बिहीबार उपत्यकाका तीनै जिल्लाबाट गरी २ हजार २ सय ९४ वटा दुईपांग्रे तथा ६ सय ८ वटा चारपांग्रे गरी २ हजार ९ सय २ सवारी साधनलाई होल्ड गराइएको र साँझ छाडिएको हो ।











